Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


मन्त्री भगबती चौधरीद्वारा माया घरको भवन शिलान्यास

एक्सन खबर
माघ, १९, २०७९


मन्त्री भगबती चौधरीद्वारा माया घरको भवन शिलान्यास

सुनसरी, १९ माघ । मानसिक, शारिरीक रोग र भोकले विच्छिप्त हुँदै सडकसम्म आइपुगेका मानवहरुको उद्दार तथा पुर्नस्थापनाका लागि काम गर्दै आइरहेको इटहरीको माया घरको व्यवस्थापन, सञ्चालन र नयाँ भवन निर्माणमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सक्दो सहयोग गर्ने मन्त्री भगबती चौधरीले बताएकी छिन् ।

माया घर नेपालको भवन शिलान्यास गर्दै संघीय मन्त्री चौधरीले समाज, परिवारबाट विभिन्न कारणले सडकमा आइपुगेका मानवहरुको उद्दार, सेवा, उपचार र पुर्नस्थापना गर्न माया घरले गरेको योगदान अमुल्य रहेको चर्चा गर्दै मन्त्रालयले दिर्घकालिन योजना बनाएर माया घरलाई सहयोग गर्ने बताइन् ।

मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग तथा लैङ्गिक, यौनिक अल्पसंख्यक समुदायका हितमा नीति बनाइरहेको बताउँदै समुन्नत, सुसंस्कृत समाज निर्माणमा सबैले योगदान दिनुपर्ने चर्चा गरिन् । ‘सुसंस्कृत, सुशोभित र मानव संवेदनायुक्त समाज निर्माण गर्नु आजको आवश्यक्ता हो । सडकमा शारीरिक, मानसिक दुःख कष्टपूर्ण जीवन व्यतित गरिरहेकाहरुलाई उठाएर माया घरले समुन्नत समाज निर्माणमा योगदान दिएको छ । मन्त्रालय यस संस्थालाई जस्तो सुकै सहयोग गर्न तत्पर छ ।’  मन्त्री चौधरीले भनिन् ।

मन्त्रालयसँग सिमित बजेट हुँदा ग्रास रुटसम्मै गएर कार्यक्रम गर्नसक्ने अवस्था नभएतापनि नयाँ आर्थिक वर्षको बजेट बढाएर महिला, बालबालिका, ज्येष्ठ नागरिकका क्षेत्रमा दिर्घकालिन र देखिने कामहरु गर्न चाहेको बताउँदै आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउने प्रतिबद्धता जनाइन् । ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता यौनिक अल्पसंख्यक गरी कूल जनसंख्याको झण्डै ७५ प्रतिशत जनसंख्या ओगट्ने यो मन्त्रालयको बजेट सबै भन्दा कम छ । तथापि, नयाँ आर्थिक वर्षको बजेटमा ग्रास रुटबाटै काम गर्ने गरी बजेट बनाउन मेरो भूमिका रहन्छ ।’ सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य समेत रहेकी मन्त्री चौधरीले बताइन् ।

महिला सशक्तिकरण, आर्थिक सशक्तिकरण र समाजसेवासँगै राजनीतिक क्षेत्रमा स्थापित हुँदै मन्त्री बन्न सफल नेतृ चौधरीले राष्ट्र निर्माणमा हरेक तह र तप्काबाट योगदान पुर्याउनु पर्ने उल्लेख गर्दै राज्यले पनि आफ्ना नागरिकको जिउधनको सुरक्षाको जिम्मा लिनुपर्ने बताइन् । साे अवसरमा माया घरकाे निरिक्षण र अवलाेकन गर्दै मन्त्री चाैधरीले ५० थान म्याट्रेस र फिल्टर समेत वितरण गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै सुनसरी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले माया घरको कामको प्रसंशा गर्दै माया घरको विकास, संरक्षण र स्थायित्वका लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तत्पर रहेको जनाइन् ।

कार्यक्रममा मन्त्री चौधरीले माया घरको करिब ५ करोड २९ लाखको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास गरेकी थिइन् । माया घरमा देशका विभिन्न क्षेत्र र सहरमा बेबारिसे अवस्थामा रहेका १३३ जना मानवहरु आश्रित रहेका छन् । उनीहरुको स्याहार सुसार, खानपान, औषधी उपचार लगायतका कार्यहरु विभिन्न दाताहरुबाट प्राप्त सहयोगबाट भइरहेपनि भौतिक संरचनाहरु निर्माण गर्न ठूलो बजेट लाग्ने भएकाले मन्त्रालय, दाताहरुबाट श्रोत जुटाइने गरिएको छ ।
















0 प्रतिकृया