Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


इटहरीमा प्रदेश स्तरीय ज्येष्ठ नागरिक स्याहार तालिम

एक्सन खबर
माघ, १९, २०७९


इटहरीमा प्रदेश स्तरीय ज्येष्ठ नागरिक स्याहार तालिम

सुनसरी, १९ माघ । इटहरीमा ज्येष्ठ नागरिक स्याहार तालिम सञ्चालन भएको छ । ज्येष्ठ नागरिक महासंघ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा २ दिने ज्येष्ठ नागरिक स्याहार तालिम सञ्चालन गरिएको हो ।

तालिमको बिहीबार उद्घाटन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले ज्येष्ठ नागरिकका ज्ञान सीप र अनुभवलाई उपयोग गर्दै देश निमार्ण गर्नुपर्ने बताइन् । पछिल्लो समय ज्येष्ठ नागरिकहरु आफ्नै घर परिवारभित्र एक्लो बन्दै गएको प्रसंग निकाल्दै परिवारको उचित स्याहार सुसार आवश्यक भएको औल्याइन् ।

कामकाजी जीवनमा छोराबुहारीले आमाबुबाको स्याहार सुसारमा मनग्गे ध्यान दिन नसक्दा ज्येष्ठ नागरिकमा विभिन्न प्रकारका शारिरीक तथा मानसिक रोगहरु लाग्ने, अस्वस्थकर जीवनशैली जिउनुपर्ने अवस्था निम्तँदै गएको प्रसंग निकाल्दै उनीहरुको लालनपालन गर्दा परिवारले बोझ मान्न नहुने बताइन् ।

मन्त्री चौधरीले ज्येष्ठ नागरिकको हक अधिकार सुरक्षित गर्न, समस्या समाधान गर्न आफु प्रतिबद्ध रहेको जनाउँदै छिट्टै ज्येष्ठ नागरिक ऐनले पूर्णता पाउने बताइन् । ‘म तपाईहरुलाई ज्येष्ठ नागरिक ऐनले चाँडै पूर्णता पाउनेमा विस्वास दिलाउन चाहन्छु, नीति निर्माणमा देखिएका अवरोधहरु हटाउन, स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्न, ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गर्न लाग्नेछु ।’ मन्त्री चौधरीले भनिन् ।

उनले ज्येष्ठ नागरिकका लागि प्रत्येक वडाहरुमा ज्येष्ठ नागरिक मिलन पार्क बनाउन, घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न, सामुदायिक भवनहरु बनाउन, निःशुल्क दन्त तथा स्वास्थ्य सेवा प्रदान गर्न, मन्त्रालयको स्टक्चर जिल्ला गतरुपमै विस्तार गर्न आफु लागि परेको बताउँदै सबैसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाईन् ।

कार्यक्रममा सहभागीहरुले ज्येष्ठ नागरिक मैत्री यातायात हुनुपर्ने, सम्पूर्ण अस्पतालहरुमा ज्येष्ठ नागरिकलाई पूर्णरुपमा निःशुल्क स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गर्नुपर्ने, घर, भवनहरु पनि ज्येष्ठ नागरिक मैत्री बन्नु पर्ने बताए । साथै, सिंहदरबार भित्र बस्नेले ज्येष्ठ नागरिकमा समस्या नदेख्ने भन्दै ज्येष्ठ नागरिकहरुलाई समेत समेटेर ज्येष्ठ नागरिक समस्या समाधान आयोग गठन गर्न पनि माग गरेका थिए ।

कार्यक्रममा १ नं. प्रदेश सांसद रोहीत बहादुर कार्की, सुनसरी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे लगायत ज्येष्ठ नागरिक महासंघका पदाधिकारीहरुले बोलेका थिए । महासंघका केन्द्रीय अध्यक्ष छत्र प्रधानले ज्येष्ठ नागरिकका हक अधिकार सुनिश्चित गर्न, उनीहरुको समस्या समाधान गर्न मन्त्रालयसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताए ।













0 प्रतिकृया