Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


केएमसीमा पहिलोपटक सफलतापूर्वक मृगौला प्रत्यारोपण

एक्सन खबर
माघ, २१, २०७९


केएमसीमा पहिलोपटक सफलतापूर्वक मृगौला प्रत्यारोपण

काठमाडौं, २१ माघ । काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको हो ।

५० बर्षीय घलेलाई उनकै श्रीमती ४३ बर्षीया हिताकुमारीले मृगौला दिएकी हुन् । दुवै मृगौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको देव्रे मृगौला प्रत्यारोपण गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलामा ब्रुनाई पुगेका धनराज ४५ दिनको विदामा गत बैशाखमा नेपाल आएका थिए । नेपाल आएको केही समयपछि उनमा खुट्टा सुनिने लगायत समस्या देखियो । स्वास्थ्य परीक्षण गर्दा उनको दुवै मृगौलामा समस्या देखिएपछि केएमसीमा उनको मृगौला प्रत्यारोपण गरिएको हो ।

केएमसीले धनराजबाटै पहिलो पटक मृगौला प्रत्यारोपण थालेको हो । मृगौला प्रत्यारोपणका लागि केएमसीमा बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाइएको छ । अब मृगौला प्रत्यारोपण सेवालाई निरन्तरता दिइने केएमसीका प्रिन्सिपल प्रा.डा.रतीन्द्रनाथ श्रेष्ठले बताए । ‘बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर केएमसीमा मृगौला प्रत्यारोपण सेवा सुरु गरेका हौं,’ श्रेष्ठले भने, ‘पहिलो पटक गरिएको मृगौला प्रत्यारोपण सफल भएको छ, अब यसलाई निरन्तरता दिन्छौं ।’

मृगौला प्रत्यारोपणका लागि करिब एक दर्जन बिरामी सम्पर्कमा आइसकेको केएमसीले जनाएको छ । डा.सुनिल शर्माको प्रवेशपछि केएमसीले नयाँ सेवा विस्तारलाई तिव्रता दिएको हो । डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिएका छन् । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न पदबाट राजीनामा दिएका डा.शर्मा चुनाव जितेर सांसद बनिसकेका छन् ।














0 प्रतिकृया