रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके विकराल अवस्था सिर्जना हुने चौधरीको दावी
धरान, २८ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले समाजसेवा गर्ने रेडक्रस जस्तो पबित्र र संवेदनशील संस्थामा राजनीति गर्न नहुने बताएकी छिन् । शनिबार नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औं जिल्ला सभाको उद्घाटन तथा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाकाे शालिक र सुनसरी रेडक्रस संस्थापक सरला कायस्थको प्रतिमा शिलान्यासमा सहभागी हुँदै मन्त्री चौधरीले रेडक्रस भित्रको विवाद समाधान गर्न आफु सक्रिय रहेको पनि बताइन् ।
रेडक्रसको केन्द्रीय कार्यालय गञ्जागोल भएको बताउदै मन्त्री चौधरीले बिशुद्ध सामाजिक संस्थामा राजनीति हुनु नै गलत रहेको बताइन् । सामाजिक कार्यका लागि सरकारले रेडक्रसलाई मानवीयताका क्षेत्रमा ठूलो विस्वास सहित अधिकार दिएको चर्चा गर्दै मन्त्री चौधरीले रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके मानवीय क्षेत्रमा विकराल अवस्था सिर्जना हुने पनि बताइन् । उनले सबै स्थानीय तहले रेडक्रससँग सहकार्य र समन्वय गरेर मानवीय सेवाको कार्य गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री चौधरीले मुलुक र जनता प्रति आइपर्ने कुनैपनि प्रकारका आपत्तविपतमा रेडक्रसले जत्तिको काम अन्य संस्थाहरुले गर्न नसक्ने बताउँदै संस्थालाई राज्यको नियम र कानुनमा राखेर सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । रेडक्रस भित्रको विवाद समाधान गर्दै देश र जनता प्रति उत्तरदायी बनाएर चलाउनु पर्ने चौधरीको भनाई छ । बाढी पहिरो, भूकम्प जस्ता दैविप्रकोप, महामारीमा रेडक्रसले ठूलो भूमिका निर्वाह गर्दै आइरहेको जनाउँदै रेडक्रस भित्रको विवाद समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने पनि जनाइन् ।
सुनसरी रेडक्रसका सभापति उमेश थापाले सुनसरी शाखाले विपतका समयमा राहत, उद्दार र व्यवस्थापनमा संस्थाले धेरै काम गरेको दावी गर्दै कोरोना संक्रमणका बेला, बाढी प्रकोपको बेला तथा अन्य समयमा र चरम रगत अभावमा रक्तदान गरी रक्त संकलन गरेर बिरामीको सेवामा रेडक्रसले प्रभावकारी काम गरिरहेको जनाए । थापाले अहिले रेडक्रस सोसाइटी भित्रको विवाद तत्काल समाधान गरेर संस्थालाई जोगाउनु पर्नेमा जोड दिए । अन्तराष्ट्रिय सम्बन्ध र पहुँच भएको संस्था समाप्त हुँदा देशले ठूलो मुल्य चुकाउनु पर्ने पनि बताए । साथै उनले मन्त्री भगबती चौधरीको नेतृत्वमा संस्थाले सहज निकास पाउनेमा विश्वस्त रहेको समेत बताए ।
थापाले कुन रेडक्रस सोसाइटी वैधानिक हो भनेर तीन तीन वटा मुद्दा परेको बताउँदै सरकारले यसको सहजताका लागि एउटा समिति बनाएर निष्पक्ष रूपमा निर्णय गरे सबैलाइ मान्य हुने पनि बताए । नेपाल रेडक्रसको विवाद समाधान होस भन्ने अन्तर्राराष्ट्रिय चासो समेत रहेको जनाउँदै मानवीय सेवा मात्र गर्ने संस्था बचाउन सबैले पहलकदमी लिनुपर्नेमा जोड दिए ।
सुनसरी रेडक्रसको ४८ वर्षअघि सरला कायस्थको पहलमा १५ सदस्यीय कार्य समितिबाट संस्था शुरुवात भएको कोषाध्यक्ष मुकुल कायस्थले जानकारी दिँदै अहिले जिल्लामा २२ वटा उपसमिति समेत रहेको जानकारी दिएका थिए । रेडक्रममा आजीवन तथा एसोएिसट सदस्य गरी ७ हजार ६ सय भन्दी सदस्य रहेका छन् । यो बर्ष रेडक्रसले विपतमा परेका १ सय ९३ जनालाई राहत सामग्री वितरण गरेको तथा सुनसरीमा रेडक्रसले रक्तसञ्चार सेवा सञ्चालन गरेर मानवीय सेवामा समर्पित भएको जानकारी दिइएको छ ।
रेडक्रसमा यसबर्ष १ सय ६५ संस्थाबाट १३ हजार ३ सय भन्दा बढी रगत संकलन भएको जनाउँदै उनले रक्तदानलाई प्रभावकारी बनाउन प्रदेश सरकारले पनि सहयोग गरिरहेको जानकारी गराए । सुनसरी रेडक्रसले २ वटा एम्बुलेन्स तथा उपशाखाहरुले पनि एम्बुलेन्स सहित शव बाहन सञ्चालन गर्दै आएको छ । कार्यक्रममा प्रदेश १ का सांसद रमेशकुमार बस्नेत, रामप्रसाद मेहता, रोहितबहादुर कार्की, यशोदा कायस्थ, ममता योन्जन, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द विक्रम बेघा, सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी जिल्लाका प्रहरी प्रमुख प्रभु ढकाल लगायत, रेडक्रस कर्मीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा मन्त्री चौधरीले होप धरान, ब्लड फर्म नेपाल सुनसरी, वीपीकेआइएचएस स्टुडेन्ट ब्लड डोनर कमिटी, रेडक्रस सोसाइटी इटहरी उपशाखा, युनाइटेड गोर्खा एकेडेमीलाई सम्मान पनि गरेकी थिइन् ।
0 प्रतिकृया