एसिया प्रशान्त क्षेत्रका १७५ बढी बैज्ञानिक र अनुसन्धानकर्ता नेपाल आउँदै
एक्सन खबर
काठमाडौं, २७ फागुन । नेपालमै पहिलोपटक एसिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औं अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । यही फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म काठमाडौंमा एसिया प्रशान्त क्षेत्रका बैज्ञानिक, खोज अनुसन्धानकर्ताहरुको सम्मेलन हुन लागेको हो ।
नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले आज पत्रकार सम्मेलन मार्फत राजधानीमा एसिया प्रशान्त क्षेत्रका २५ देशका १७५ बढी बैज्ञानिक, अनुसन्धानकर्ताहरु ५ दिनसम्म रहेर ५५ वटा भन्दा बढि सेसनहरुमा सहभागी हुने जानकारी दिएको छ । कोभिड महामारीपछि पहिलो पटक भौतिक रुपमा हुन लागेको सम्मेलनमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायत विभिन्न विषयहरुमा केन्द्रीत रहेर प्रस्तुति हुने मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताए ।
दुईजना नेपालीसहित ४ जना व्यक्तिहरुले मुख्य वक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । विश्वकै लागि चुनौतिको रुपमा देखिएको जलवायु परिवर्तन त्यसले हिमाली क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरणका विषयमा जलवायु परिवर्तन विशेषज्ञ डा. अरुण भक्त श्रेष्ठ र शगरमाथासँगै मनासलु, ल्होत्से, कञ्चनजंघा, अन्नपूर्ण, धवलागिरी, आमादब्लम हिमालको आरोहण गरी चर्चा कमाएकी पर्वताराेही पूर्णिमा श्रेष्ठले हिमालहरुका विषयमा प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलनमा यूरोपीय नेशनल रिसर्च एण्ड एजुकेशन नेटवर्क (GEANT) का प्रमुख कार्यकारी अधिकृत एरिक हुइजर तथा फिलिपन्सकाे एडभान्स साइन्स एण्ड टेक्नाेलाेजी इन्ष्टिच्युटका डाइरेक्टर डा. फ्रान्ज ए डे लियोनले समेत प्रस्तुति दिने कार्यक्रम छ ।
‘यो सम्मेलनबाट नेपाली अनुसन्धानकर्ता, बैज्ञानिकहरुले खोज र अनुसन्धानका क्षेत्रमा विश्वमा के भइरहेको छ भन्ने जानकारी मात्र पाउँदैनन्, विश्वकै बरिष्ठ खोज अनुसन्धानकर्ताहरुसँग सात्क्षात्कार हुने र अनुभव साटासाट गर्ने अवसर पनि पाउँछन् ।’ अध्यक्ष अमात्यले भने ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक कमिटीका सदस्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले सम्मेलनले खोज अनुसन्धानहरु विदेशीहरुले मात्र गर्छन् भन्ने धारणाको अन्त्य गर्दै नेपालीहरु पनि विभिन्न विषय र क्षेत्रमा खोज अनुसन्धानहरु गर्न सक्छन् भन्ने सन्देश दिने बताए ।
सम्मेलनमा प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा जस्ता सूचना प्रविधि कार्यान्वयनका महत्वपूर्ण विषयवस्तुहरुमा पनि विमर्श हुने भनिएको छ ।
सम्मेलनमा नेपालमा सुपर कम्प्युटरको आवश्यक्ता, औचित्य, महत्व र उपयोगिताका विषयमा पनि विमर्श हुने भनिएको छ । हाल काठमाडौं विश्वविद्यालयसँग जेनेभास्थित वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबरेटोरी फर प्राक्टिकल फिजिक्स (सेरेन)को अनुदानमा प्राप्त सुपर कम्प्युटर छ । भने, त्रिभुवन विश्वविद्यालयले पनि जर्मनीको आइएफडब्लु ड्रेसडेनको अनुदानमा २४० सिपियु, ३ टेराबाईट मेमोरी र ३० टेराबाइट भण्डारण गर्ने सुपर कम्प्युटर छ ।
सम्मेलनमा २५ देशका १७५ बढी प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधिसँग सम्वन्धीत संस्थाहरुबाट १५० गरि ३३० भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाएको डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पुर्याउने, वैज्ञानिक अनुसन्धान र यस सम्वन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान र शैक्षिक सञ्जालको विस्तारको लागि सम्मेलनले सचेतना बढाउने अपेक्षा गरिएको छ ।
सम्मेलन आयोजनाको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साथै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, Ruijie Networks, APNIC, Internet Society, Asi@Connect, e-Hualu लगायतका संस्थाहरुले प्रायोजन गरेका छन् । सम्मेलनमा इन्टरनेट व्याण्डवीथ वल्र्डलिंक कम्युनिकेशन र सुविसु केवलनेटले उपलव्ध गराउने छन् ।
राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एसिया प्यासिफिक एडभान्स नेटवर्कले सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको छ । नेटवर्कले २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुमा गर्दै आइरहेको छ ।
0 प्रतिकृया