नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे यस्ताे छ सन्देश
एक्सन खबर
काठमाडाैं, १ बैशाख । आजबाट नयाँ वर्ष २०८० सुरू भएकाे छ । नेपालीहरूकाे चलनचल्तीकाे विक्रम संम्वतका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन आम नेपालीलाई आह्वान गरेका छन् ।जनमानसमा व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने पाैडेलले बताएका छन् ।
‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्याउन सक्नेछ ।’ शुभकामना सन्देशमा भनिएकाे छ ।
आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने राष्ट्रपतिकाे विचार छ ।
यस्तै नयाँ वर्ष २०८० कै अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि शुभकामना व्यक्त गरेका छन् । उनले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्षले उमङ्गका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रेरित गर्नेमा विश्वास व्यक्त गरे ।
उनले दीगो विकासको लक्ष्य हासिल गर्न तथा सामाजिक न्यायसहितको समातामूलक समाज स्थापना गर्न आह्वानसमेत गरेका छन् । भने, नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावना अभिवृद्धि गर्दै अघि बढ्न स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि सङ्घीयता कार्यान्वयन गर्ने, राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशीतालाई बलियो बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने काम अझै चुनौतीपूर्ण रहेको पनि बताएका छन् ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन मात्रै होइन राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् ।
‘बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ,’ प्रधानमन्त्रीकाे शुभकामनामा भनिएकाे छ ।
निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका सङ्कट र चुनौती कम हुँदै गएको जिकीर गरेका छन् ।
‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ सङ्कल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन,’ प्रधानमन्त्रीकाे शुभकामनामा सन्देशमा उल्लेख छ ।
नयाँ वर्षकाे अवसरमा आज सार्वजनिक विदा दिइएकाे छ ।
0 प्रतिकृया