Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सांसद सुनिल शर्माले अति विपन्न बिरामीहरुलाई मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

एक्सन खबर
बैशाख, ४, २०८०


सांसद सुनिल शर्माले अति विपन्न बिरामीहरुलाई मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

खोटाङ, ४ बैशाख । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न बिरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् ।

ग्रामिण क्षेत्रका विपन्न बिरामीहरुको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद डा. शर्माले अति विपन्न बिरामीलाई निःशुल्क र विपन्न बिरामीलाई विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइदिएका हुन् ।

यो बिषयमा केएमसी र केपिलासगढी गाउँपालिकाबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रबन्धक नारायण दाहाल तथा केपीलासगढी गाउँपालिकाको तर्फबाट अध्यक्ष समिर राई र प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीले हस्ताक्षर गरेका छन् ।

केपिलासगढीका अति विपन्न बिरामीलाई केएमसीमा शत प्रतिशत सम्म छुटको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ । त्यस्तै, गाउँपालिकाले सिफारिस गरेर पठाएका विपन्न बिरामीले पनि सहुलियत दरमा उपचार पाउँनेछन् ।

ओपीडीमा आएका विपन्न बिरामीले २५ प्रतिशत छुट पाउँनेछन् । भर्ना भई उपचार गराउँनु पर्ने अवस्थाका बिरामीलाई केएमसीले ५० प्रतिशत छुट दिनेछ । सम्झौता अनुसार एमआरआई, सीटीस्क्यान, शल्यक्रिया लगायत सबै किसिमको उपचारमा बिरामीले छुट पाउँनेछन् । न्यून आय भएका र उपचार गराउँन नसकिरहेका विपन्न बिरामीलाई उपचारमा सहजता प्रदान गर्न छुटको व्यवस्था गरिएको डा.शर्माले बताए ।

‘खोटाङको दुर्गम क्षेत्र केपिलासगढीका विरामीहरुलाई उपचारमा सहयोग गर्न आगामी एक बर्ष सम्मका लागि सम्झौता गरिएको छ, त्यसपछि पनि सम्झौता थप हुन सक्छ,’ डा.शर्माले भने ।

यसैबीच, केपिलासगढी गाउँपालिका र केएमसीको सहकार्यमा गाउँपालिकाको केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन सोमबार केपिलासगढीका १ हजार ३ सय ५६ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका महाप्रवन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा १२५ जनाको भिडियो एक्सरे, १४२ जनाको रक्त परीक्षण र ८९ जनाको इसीजी गरिएको छ । केपिलासगढीको शिविर सकिएपछि बुधबार रावावेसीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने केएमसीले जनाएको छ ।













0 प्रतिकृया