नापी कार्यालय चाबहिलका तत्कालिन प्रमुख सहित ८ जनाविरुद्ध विशेष भ्रष्टाचार मुद्दा
एक्सन खबर
काठमाडौं, ८ वैशाख । नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले उनीहरूमाथि जग्गाको नक्सा आफूखुशी जोडेको तथा नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्दै मुद्दा दायर गरेकाे हाे ।
अख्तियारका प्रवक्ता भोला दाहालले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको बताएका छन् ।
नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप अख्तियारकाे छ ।
यो कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवर तथा झापाको कमल गाउँपालिका-२ का योगेन्द्र आचार्य, काठमाडौँ कागेश्वरी मनोहरा-९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका-९ का नविन दाहालको पनि संलग्नता रहेको छ ।
आचार्य, अधिकारी र दाहालले ट्रायल चेकबाट क्षेत्रफल बढाएर कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीहरुलाई परिवर्तित नक्सा बमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मतियारको रुपमा सहयोग पुर्याएको दाबी छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदावी लिइएको छ ।
0 प्रतिकृया