लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त
एक्सन खबर
काठमाडाैं, १४ बैशाख । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा दाङका नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा चाैधरी लुम्बिनी प्रदेशकाे चाैथाे मुख्यमन्त्री भए । दाङ निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरीले प्रदेश प्रमुख शेरचन समक्ष प्रदेश सभाका बहुमत सांसद ५३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
वैशाख १२ गते संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा दिएका थिए ।
२०७४ सालमा संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालामा लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गरिसकेका चौधरी माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री छँदा ग्रामिण, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारीमा थिए ।
चौधरी कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । ८७ सदस्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका, नागरिक उन्मुक्ति र जनमतका ४-४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र एक जना स्वतन्त्र सांसद छन् ।
लुम्बिनीको सबैभन्दा ठूलो अर्थात प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने भन्दै दाबी गरेको थियो । एमालेले १६८ को उपधारा २ अनुसार सरकार गठनमा जानु संविधानविपरित रहेको भन्दै प्रदेश प्रमुखको कदमको बिरोध जनाएको थियो ।
0 प्रतिकृया