अमेरिका पठाइदिने भन्दै कराेडाैं असुली गर्ने तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार प्रक्राउ
एक्सन खबर
काठमाडौं, १९ वैशाख । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई प्रक्राउ परेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं असुली गरेको आराेपमा प्रहरीले मंगलबार बिहान पक्राउ गरेकाे हाे ।
नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरूले दिएकाे बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै प्रहरीले पक्राउ गरेकाे हाे । गिराेहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार राईले त्यसबेला पटक–पटक गरेर गृहसचिव र गृहमन्त्रीसमेतलाइ मिलाउने भन्दै ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ । तत्कालिन गृहमन्त्री बादल २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेकाेमा दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा थिए ।
सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेकोमा उनीहरूले प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको अनुसन्धानमा खुलेकाे छ । उक्त प्रतिवेदन भने सार्वजनिक गरिएकाे छैन ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि अनुसन्धान अघि बढेको थिएन ।
त्यसबेला गिरोहले तत्कालीन गृहसचिव प्रेमकुमार राई, पछि महेश्वर न्यौपाने लगायतलाई पनि मिलाउनुपर्ने भन्दै रकम असुली गरेको थियो । प्रहरी श्राेतले त्यसबारे अनुसन्धान जारी रहेको बताएकाे छ ।
0 प्रतिकृया