पूर्वाञ्चल विश्वविद्यालयमा सुविधा सम्पन्न सभाहल शिलान्यास
एक्सन खबर
सुनसरी, २२ बैशाख । आगामी शैक्षिक सत्रदेखि एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको पूर्वाञ्चल विश्वविद्यालयमा सुविधासम्पन्न सभाहल बन्ने भएको छ । नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विश्वविद्यालयका लागि सभाकक्ष बनाईदिन लागेको हो ।
सात सय ५० सिट क्षमताको सभाहलसँगै नबिल बैंकले त्यहाँ शाखा कार्यलयको समेत राख्नेछ । विश्वविद्यालयकै परिसरमा बैंक समेत हुँदा विद्यार्थी, शिक्षक, कर्मचारीलाई समेत बैकिङ काराेबार गर्न सहज हुनेछ ।
शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपति अशोक राई तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले सभाहल र बैंककाे शाखा कार्यालयकाे संयुक्त रूपमा शिलान्यास गरे ।
साे क्रममा बोल्दै मन्त्री राईले राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अन्त्य हुनुपर्ने बताए । मुलुकका सबै विश्वविद्यालयहरुमा बढी राजनीति हुने गरेकाे जिकीर गर्दै मन्त्री राईले राजनीतिक भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए ।
शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले विश्वविद्यालयमा बढी राजनीति गर्दा घाटा भइरहेको बताउँदै मन्त्री राईले अन्य देशमा राजनीतिक व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने प्रचलन नरहेको पनि बताए । ‘हाम्राेमा विश्वविद्यालयहरूमा बढी राजनीति भयाे, अन्य देशहरूमा यस्ताे प्रचलन छैन । राजनीतिक नियुक्ति हुँदैन ।’ मन्त्री राईले भने ।
शिक्षाक्षेत्रका सरोकारबालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने विषयमा जानकारी लिएकाे बताउँदै मन्त्री राईले चाँडै देखिने गरि काम गर्ने पनि बताए । शिक्षाक्षेत्र सुधारका लागि कतिपय ऐन कानून बन्न नसकेकाले आउँदो संसद अधिबेशनमा रोकिएका ऐनलाई पेश गर्ने मन्त्री राईकाे भनाइ छ ।
पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दा बढी उपलब्धी हासिल गरेको आफूले पाएको उनले बताए । साथै, उनले विश्वविद्यालयहरुले सँधै अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्नु पर्नेमा जाेड दिए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले एमविविएस कक्षाा सञ्चालनका लागि सरकारले अनुमति दिएपनि श्राेत साधन नभएकाे बताए । आगामी शैक्षिक सत्रदेखि एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको डा. काेइरालाकाे भनाइ छ ।
विश्वविद्यालयमा मेडिकल शिक्षा सुरू गर्न माेरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्माकाे नेतृत्वमा डा. शेखर काेइराला, काेशी प्रदेशका मन्त्री जीवन आचार्य लगायतले भूमिका निर्वाह गरेका थिए ।
0 प्रतिकृया