कक्षा १२ को वार्षिक परीक्षा सुरु, चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी
एक्सन खबर
काठमाडौं, २६ वैशाख । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ ।
परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । परीक्षाका लागि देशभर एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने शर्माले जानकारी दिए । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै सबै विषयको परीक्षा फारम भरेकाे थियाे । तर, मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड (एनजी) ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने छ ।
लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको हाे ।
0 प्रतिकृया