Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


जनयुद्धमा जस्तै भ्रष्टाचार नियन्त्रणका लागि तपाईंहरुको साथ चाहियाेः प्रधानमन्त्री

एक्सन खबर
बैशाख, २६, २०८०


जनयुद्धमा जस्तै भ्रष्टाचार नियन्त्रणका लागि तपाईंहरुको साथ चाहियाेः प्रधानमन्त्री

काभ्रे, २६ बैशाख । भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने,‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरुसँग अपील गर्न चाहन्छु ।’

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनिहरुलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यहि हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’ उनले भने ।

जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताए। यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनको भनाई थियो ।

‘जुनजुन प्रदेश हिजोको राज्यबाट पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु । काठमाडौं वरिपरि नै भएपनि हिजोको राज्यसत्ताले पछाडि पारेका क्षेत्रहरु अर्थात पालिकाहरुलाई विकासमा अगाडि ल्याउने हाम्रो प्रतिवद्धता छ ।’ प्रधानमन्त्रीले भने ।

 त्यहि प्रतिवद्धता अन्तर्गत अबका ५ वर्षमा यो क्षेत्रमा भएको विकास निर्माणले पर्यटकहरु ओहिरिने उनकाे भनाइ छ । हिजोको राज्यले काठमाडौंको नजिकै भएर पनि काभ्रेका नागरिकलाई विकासबाट बञ्चित गराएकाे बताउँदै प्रधानमन्त्रीले महाभारत र खानीखोला जस्ता विकट गाउँहरु क्रान्ति र परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको क्षेत्र भएको नाताले गणतन्त्रको घोषणा पछि सबैभन्दा छिटो विकास र सुबिधा पाउने अधिकार यहि क्षेत्रको रहेकाे जिकीर गरे ।

‘यो क्षेत्रमा तपाईहरुले पनि आफ्ना विकास प्रेमी जनप्रतिनिधिलाई जिताउनुभयो र मैले पनि यहाँको विकास र निर्माणलाई उच्च प्राथमिकता दिएँ । त्यसैको परिणाम म धेरै पटक आएँ ।’ प्रधानमन्त्रीले भने ।













0 प्रतिकृया