काठमाडौंको महाबौद्धमा केएमसी र पिपुल्सको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, २६ बैशाख । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले महाबौद्धमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पिपुल्स डेण्टल कलेज प्राविधिक सहयोग तथा एकता व्यापार संघसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा ६८२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका मध्ये ८७ जनाको इसिजी, १०५ जनाको भिडियो एक्सरे, १११ जनाको ल्याब परीक्षण गरिएको छ ।
त्यस्तै, ५ जनाको दाँत खोलिएको तथा ३२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा महाबौद्ध क्षेत्रका ब्यापारी, व्यवसायीहरुको सहभागीता थियो ।
स्वास्थ्य शिविरको प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत रहेका थिए । उनले नेपालकाे स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षामा काठमाडाैं मेडिकल कलेजले पुर्याएकाे याेगदानकाे प्रशंसा गर्दै सरकार स्वास्थ्य क्षेत्रकाे विकास गर्न निजी क्षेत्रसँग सहकार्य गरेर जाने बताए ।
कार्यक्रममा केएमसी र पिपुल्स डेण्टलको तर्फबाट पिपुल्सका प्रमुख कार्यकारी अधिकृत भीम चन्दले मन्तव्य राख्दै सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको निःशुल्क स्वास्थ्य परीक्षणबाट आम नागरिक लाभान्वित हुने आशा व्यक्त गरे ।
केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले थालनी गरेको निःशुल्क स्वास्थ्य शिविरबाट गाउँ शहरका गरिब, विपन्न, असहाय नागरिकसँगै आम सर्वसाधारण लाभान्वित भइरहेका छन् । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएतापनि उनले थालेको अभियानलाई केएमसीले निरन्तरता दिइरहेको छ ।
0 प्रतिकृया