दमकमा पहिचान पक्षधर र प्रहरीविच झडप, एक दर्जन घाइते
एक्सन खबर
काठमाडौं, २६ बैशाख । कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा एक दर्जन घाइते भएका छन् । मंगलबार कोशी प्रदेश नाम खारेजीको माग राख्दै पहिचान पक्षधरले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा दुवैतर्फ गरी एक दर्जन घाइते भएका हुन् ।
प्रहरीले राँकाे निभाउन खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीतर्फ दशजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रदर्शनकारी तर्फ दुइ जना घाइते भएका छन् ।
झडपमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामा, दुई प्रहरी निरीक्षकसहित दश प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ ।
स्थिति तनावपूर्ण भएपछि भिड तितरबितर बनाउन प्रहरीले १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्यांक फायर र एक राउन्ड हवाई फायर गरेको छ ।
पहिचानवादी नेता ताङ्साङ् लावतीका अनुसार दुईजना प्रदर्शनकारीको अवस्था गम्भीर छ । प्रहरीले चलाएको गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो गम्भीर घाइते भएको उनले बताए । घाइते दुईजनाको दमकका अस्पतालमा प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ ।
जुलुस गणतन्त्र चोकमा पुगेपछि प्रहरीले राँको निभाउन खोज्दा झडप भएको थियो । जुलुसमा सहभागीहरूले प्रहरीमाथि राँको, इँटा र ढुंगा प्रहार गरेका थिए । अहिले दमककाे अवस्था सामान्य भएकाे छ ।
प्रदेश सभाले प्रदेशको नाम कोशी राखेयता कोशी अशान्त बनेकाे काेशी प्रदेशमा पहिचान पक्षधरकाे आन्दोलनका क्रममा पदम लिम्बूले ज्यान गुमाइसकेका छन् । उनीहरूले कोशी नाम खारेज गरी पहिचानको आधारमा प्रदेशकाे नामाकरण गरिनु पर्ने माग राख्दै आएका छन् ।
0 प्रतिकृया