‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन, आज अन्तिम संस्कार
एक्सन खबर
काभ्रे, २८ वैशाख । जनआन्दोलन ०६२/०६३ मा सुरक्षाकर्मीकाे गाेली लागेर घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर परिचित कायस्थको बुधबार साँझ बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
१४ वर्षकाे उमेरमा २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । उनी सोही दिनदेखि ओछ्यान परेका थिए । उनको ३२ वर्षको उमेरमा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।
मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए । कायस्थको आज (विहीबार) अन्तिम संस्कार गरिने छ ।
बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका कायस्थलाई दोस्रो जनआन्दोलनमा गोली लागेपछि पक्षघात भएको थियो । १७ वर्षको उमेर पुग्दासम्म पनि उनी अर्धचेत उनी लगातारको उपचारपछि वायाँ हात चलाउने, हाँस्ने, गिलो खाने कुरा खाने तथा ह्विलचियरमा अडिन सक्ने सम्म भएका थिए ।
तर, पुनः २०७५ असारमा बिरामी परेश्चात अर्धचेत भएका थिए । त्यसयता बनेपाकै शिर मेमोरियल अस्पतालमा उपचाररत कायस्थको बुधबार बेलुकी ७:३० बजे निधन भएको हो ।
मुकेशलाई २०७८ सालमा सरकारद्वारा गठित लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ बाट सम्मान गरेको थियो ।
0 प्रतिकृया