बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
एक्सन खबर
काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने नगर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । हिजाे बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।
दिउसाे २ बजे धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने बताइएकाे छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पुर्याउने गिरोहसँग संलग्न भएको आरोपमा खाँणलाई बुधबार निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद समेत दिएको छ ।
तत्कालै पार्टी सभापति देउवाले खाँण निकटका कांग्रेस नेताहरुसँग छलफल गर्दै शीर्ष नेताहरुसँग बैठक गरेका थिए । उक्त बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा लगायतले खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा प्रष्ट विचार राखेपछि देउवा माैन बसेका थिए ।
श्राेतका अनुसार सभापति देउवा खाँणलाई तत्काल निलम्बन गर्न नहुने तर, प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न दिने पक्षमा रहेका छन् ।
0 प्रतिकृया