बालकृष्ण खाँणका विषयमा कांग्रेसले गर्न सकेन निर्णय
एक्सन खबर
काठमाडाैं, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठे पनि कुनै निर्णय भएन ।
बिहीबार बसेकाे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कुनै निर्णय नभएकाे कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए । ‘केही कुरा उठेको छ । तर कुनै पनि निष्कर्षमा पुगेका छैनौं’, बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै सहमहामन्त्री परियारले भने ।
खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने बताए । लुक्ने र भाग्ने नगरी पक्राउ परेर खाँणले प्रहरीको अनुसन्धानलाई सहयोग गरेको उनकाे भनाइ छ ।
खाँड छानबिनका लागि तयार भएकाे बताउँदै परियारले पार्टीका नेताले अनुसन्धानका लागि सहयोग रेकाे जिकीर गरे । उनले एमालेका पदाधिकारी अहिलेसम्म फरार भएकाे जनाउँदै कांग्रेस दोषीलाई उम्काउने प्रयासमा नभएकाे जनाए ।
पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारुढ गठबन्धन अनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको परियारले बताए । यस विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई छलफलको जिम्मा दिइएको छ ।
बैठकमा राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि छलफल भएको र कानुनविद्सँग राय लिने कांग्रेसको भनाइ छ । भ्रातृ संस्थाहरुको केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।
बैठकमा उपसभापति धनबहादुर गुरूङ्ग, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणका विषयमा सभापतिले बाेल्नुपर्ने भन्दै र्रयाख्यार्रख्ती पारेका थिए । उनीहरूले खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने अडान लिँदा सहमहामन्त्री महेन्द्र यादवले त चर्को प्रतिवाद नै गरे । अर्का केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पनि खाँणलाई जाेगाउनु पर्ने बताए ।
0 प्रतिकृया