श्रम बजार खाेज्न वैदेशिक रोजगार मेला आयोजना
एक्सन खबर
काठमाडाैं, २९ बैशाख । वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरिएकाे छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्न गराउन र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्न गराउन वैदेशिक रोजगार मेला आयोजनाकाे प्रस्ताव ल्याएकाे हाे ।
बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोप, अमेरिका लगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हाे ।
अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए ।
नयाँ क्षेत्र पहिचानका लागि युरोपेली मुलुकमा रहेका दूतावास, गैरआवासीय नेपाली र सरोकारवाला पक्षसँग छलफल गरिने छ ।
0 प्रतिकृया