Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


नोबेल शिक्षण अस्पताल भित्र बन्यो नर्सिङ संघको भवन

एक्सन खबर
बैशाख, ३०, २०८०


नोबेल शिक्षण अस्पताल भित्र बन्यो नर्सिङ संघको भवन

विराटनगर, ३० बैशाख । नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।

जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्सहरुलाई विरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ संघलाई आफ्नो भूमिका अब्बल बनाउन शुभकामना दिइन् ।

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माकी आमासमेत रहेकी न्यौपानेले नर्सिङ संघको कार्यालयलाई व्यवस्थित गर्न थप ५० हजार प्रदान गर्ने घोषणा पनि गरिन् । कार्यक्रममा विराटनगर महानगरपालिका–४ का वडाध्यक्ष जितन थापाले नर्सिङ संघलाई आगामी दिनमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक तथा जग्गादाता इन्दिरा शर्माले भवन निर्माणपछि नर्सिङ संघको संस्थागत गतिविधि सञ्चालन गर्न सहजता मिल्ने विश्वास व्यक्त गरिन् । उनले भवन निर्माणका लागि यसअघि १ लाख ५० हजार सहयोग पनि गरेकी थिइन् । जग्गादाता होमादेवी र इन्दिरा सासु–बुहारी हुन् । उनीहरुको परिवारले चार बर्षअघि नर्सिङ संघलाई नोबेल अस्पताल परिसरमा १० धुर जग्गा प्रदान गरेको थियो ।

सोही जग्गामा करिब ४० लाखको लागतमा नर्सिङ संघको भवन निर्माण गरिएको संघका सचिव मेनुका भण्डारीले जानकारी दिइन् । उनका अनुसार भवन निर्माणका लागि नर्सिङ संघ केन्द्रिय कमिटीले २५ लाख उपलब्ध गराएको थियो, बाँकी रकम जुटाएर भवन बनाइएको हो ।

यसैबीच, कार्यक्रममा जग्गादाता होमादेवी र नर्सिङ संघका केन्द्रिय सदस्य अञ्जुला कार्कीलाई सम्मान गरिएको छ । जग्गा प्रदान गरेर सहयोग गरेको भन्दै न्यौपाने र भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्कीलाई सम्मान गरिएको हो । उनीहरुलाई नर्सिङ संघका अध्यक्ष कविता अधिकारी र सचिव भण्डारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरेका छन् ।














0 प्रतिकृया