टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
एक्सन खबर
काठमाडाैं, १ जेठ । एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजाे साँझ पक्राउ परेका रायमाझीलाई काठमाडाैं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।
रायमाझीलाई आइतबार साँझ प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट अर्घाखाँचीका एक आफन्तको घरबाटै पक्राउ गरेको थियो । प्रकरणमा उनलाई बैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको भएपनि उनी सोही दिनदेखि प्रहरीलाई झुक्याएर फरार भएका थिए ।
सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेकाे थियाे । हिजो पक्राउ गरी उनलाई आज म्याद थपका लागि अदालत लगिएको हाे । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री सांसद बालकृष्ण खाँड सहित अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन् । तीन जना अझै फरार छन् ।
उनीहरूसहित १३ जनालाई अदालतले दिएको म्याद बुधबार सकिँने भएकाले साेहि दिन पुन: अदालतमा उपस्थित गराएर म्याद थप गराउनुपर्ने हुन्छ ।
उनीहरूमाथि प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेकोले उक्त कसूरमा ६० दिनभित्रमा मुद्दा बुझाइ सक्नुपर्छ । मिसिल अध्ययन गर्नुपर्ने भएकाले सरकारी वकिलले पनि प्रहरीलाई चाँडो अनुसन्धान सकाउन भनेको छ । चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान आज ५२ दिन पुगेको छ ।
0 प्रतिकृया