Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


सर्वाेच्चद्वारा रेशम चाैधरीलाई जन्म कैद गर्ने उच्च अदालतकाे फैसला सदर

एक्सन खबर
जेठ, २, २०८०


सर्वाेच्चद्वारा रेशम चाैधरीलाई जन्म कैद गर्ने उच्च अदालतकाे फैसला सदर

काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले टिकापुर घटनाका प्रतिवादी रेशमलाल चौधरीको जन्मकैदको फैसला सदर गरेको छ । मंगलबार सर्वाेच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेकाे हाे ।

साेहि प्रकरणमा उच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा भने जन्मकैदको फैसला उल्टाएर त्यसअघि जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा सुनाएकाे तीन वर्षको कैद सजायलाई नै सदर गरेकाे छ । उनले तीन वर्षकाे सजाय काटिसकेका छन् ।

उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएका प्रतिवादीमध्येका सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्च अदालतले सफाई दिएको छ । सर्वोच्च अदालतबाट जारी संक्षिप्त आदेशमा तीन जनाको हकमा केही उल्टी भएपनि अन्य प्रतिवादीहरुको हकमा उच्च अदालत दिपायलकै फैसला सदर गरिएको भनिएकाे छ ।

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी रेशम चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ । चौधरी २०७४ फागुन १४ देखि जेलमा छन् । उनी जेलमुक्त हुन अझै १४ वर्ष (२०९४ फागुन १३ गते) सम्म सजाय काट्नुपर्ने हुन्छ ।

कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारमा प्रतिवादी रेशम चौधरी, लक्ष्मण थारु लगायतका ६ जनालाई जन्मकैदको फैसला भएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला विरूद्ध उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले लक्ष्मण थारुको सजाय घटाई तीन वर्ष कायम गर्ने र सीताराम चौधरी र गंगाराम चौधरीको हकमा सफाई दिने फैसला गर्नुबाहेक अन्य प्रतिवादीको हकमा उच्च अदालतकै फैसला सदर गरेको हाे ।

कैलाली जिल्ला अदालतमा दायर रिटमा ५८ जनालाई दोषी बनाई मुद्दा दायर गरिएको थियो । ५८ जनामध्ये इञ्जिनियर धनीराम चौधरी सहित ३१ जना प्रतिवादी फरार रहेका थिए । २७ जना प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिएको थियो ।

त्यसैगरी प्रतिवादीहरु संगम भन्ने सन्तोष चौधरी, दिल बहादुर चौधरी र जित बहादुर चौधरीलाई जनही तीन वर्ष कैद सजाय गर्ने जिल्ला अदालतको फैसला उल्टाएर मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार जनही दश वर्ष कैद सजाय हुने ठहर गरेको थियो । त्यसैगरी उनीहरुलाई ज्यान मार्ने उद्योगमा थप पाँच पाँच वर्षको कैद हुने फैसला गरिएको थियो ।

जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रतिवादीहरु सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाको हकमा उच्च अदालत दिपायलले जनही पाँच वर्षको कैद सजाय हुने फैसला सुनाएको थियो । जनही तीन वर्ष कैदको फैसला सुनाएका प्रतिवादीहरु रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीको हकमा उच्च अदालतले जनही पाँच वर्ष कैदकाे फैसला सुनाएको थियो ।

तीन वर्ष कैद सजाय सुनाएका प्रतिवादी विश्राम चौधरीका हकमा उच्च अदालत दिपायलले उल्टी गरी सफाई दिएको थियो । सर्वोच्चले दुई जना प्रतिवादीलाई अभियोग दाबीबाट सफाई दिने र लक्ष्मण थारुको हकमा जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला उल्टी गरी तीन वर्षको जेल सजाय कायम गर्नेबाहेक अन्यको हकमा उच्च अदालतकै फैसला सदर गरेको छ । मुल्तवीमा रहेका अन्य मुद्दाहरुको हकमा भने सुरु अदालतबाट सुनुवाइ र कारबाही हुनेछ ।

टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो । उक्त प्रकरणका मुख्य अभियुक्त रेशमलाल चाैधरी थिए ।

रेशमसहितका कैदीबन्दीको मुद्दा फिर्ता लगायतको मुद्दा उठाउँदै बनेको नागरिक उन्मुक्ति पार्टीले गत मंसिरको प्रतिनिधिसभा चुनावमा चार सिट जितेको छ । बर्तमान गठबन्धन सरकारमा रेशमकी पत्नी समेत रहेकी कैलाली १ की सांसद रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

सरकारले मुद्दा फिर्तासम्बन्धी विधेयक दर्ता गराएको भएपनि सर्वोच्चको फैसलाले यो बाटो बन्द गरेको छ । जन्मकैद सदर भएसँगै रेशम २० वर्ष जेल बस्नुपर्ने भएकाे छ । त्यो भन्दा अगाडि छुट्न कैद सजाय माफीको बाटो हुनसक्ने कानुन व्यवसायीहरुकाे भनाई छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ मा सजाय माफी दिन सक्ने व्यवस्था छ । यो दफाअनुसार कसुरदारले सजाय माफीका लागि गृह मन्त्रालयमार्फत राष्ट्रपति समक्ष निवदेन दिन सक्छन् । कसुरको प्रकृति, सकुरदारको उमेर तथा शारीरिक अवस्था, थुनामा रहे, नरहेको अवस्था हेरेर राष्ट्रपतिले सजाय माफी गर्ने, मुलतबी राख्ने, परिवर्तन गर्ने वा कम गर्न सक्छन् ।













0 प्रतिकृया