प्रभावकारी शैक्षिक अभ्यास बारे नेकका शिक्षकलाई २ दिने प्रशिक्षण
एक्सन खबर
काठमाडौं । शिक्षकहरुलाई समय सापेक्ष योग्य र दक्ष बनाउन नेपाल इन्जिनियरिङ कलेज (नेक) ले दुईदिनको प्रशिक्षण सञ्चालन गरेको छ । सामाजिक शैक्षिक संस्थाकारुपमा सञ्चालित कलेजका शिक्षकहरुको ज्ञान र सीपलाई प्रभावकारी तथा दक्ष बनाउन दुई दिने प्रशिक्षण आजबाट दिइएको हो ।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनसँगको सहकार्यमा कलेजका शिक्षकहरूलाई प्रभावकारी शैक्षिक अभ्याससँगै मूल्याङ्कन प्रणाली बारे दक्ष बनाउन प्रशिक्षण कार्यक्रम बनाइएको हो ।
प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजित कार्यक्रममा कलेजका विभिन्न संकायका शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन पेडागोजीको मुद्दाहरू, प्रयोगात्मक शिक्षा र परियोजना आधारित शिक्षामा जोड दिइयो । कार्यक्रममा भाग लिएका कलेजका स्नातक र स्नातकोत्तर तहका शिक्षकहरूले शिक्षण विधिमा कसरी विद्यार्थी सहभागिता बढाउने भन्ने विषयमा सीप आर्जन गरेको बताए ।
कार्यक्रमको सुरुवात नेक र काठमाडौ विश्वविद्यालय बीच सम्झौता पत्र आदानप्रदानबाट भएको थियो । शिक्षकहरूलाई व्यवसायिक शिक्षा अन्तरगत प्रभावकारी शैक्षिक अभ्यास तथा मूल्याङ्कन रणनीतिहरूमा दक्ष बनाउन कलेजले समयसमयमा यस्ता तालिमहरु दिने गरेको छ ।
तालिमको दोस्रो दिन शनिबार पाठ्यक्रम अद्यावधिक गर्ने, विद्यार्थीहरूसँगको सञ्चार, सक्रिय सिकाई र विद्यार्थी मूल्याङ्कनमा जोड दिइने तथा ती सीपहरू प्रयोग गर्न सामग्रीहरू तयार पारिने छ । त्यसैगरी इन्जिनियरिङका विद्यार्थीहरूमा समालोचनात्मक सोचको विकास कसरी गर्ने तथा शिक्षकमाथिको निर्भरता कम गरी विद्यार्थीहरूमा सक्रिय सिकाई कसरी गर्न लगाउने भन्ने विषयमा पनि जोड दिइने बताइएको छ ।
कलेजको आफ्नै स्रोतमा आयोजित कार्यक्रमलाई काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनले प्राविधिक सहयोग गरेको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमको संयोजन कलेजको अन्तरराष्ट्रिय कार्यक्रम अधिकारी उपप्राध्यापक कृष्ण विक्रम शाहले गरेका थिए ।
गैर नाफामुलक सामाजिक शैक्षिक संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० सालमा दर्ता भई चाँगुनारायण नगरपालिकामा सञ्चालित यस कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्येको उत्कृष्ट इन्जिनियरिङ कलेज हो ।
0 प्रतिकृया