Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नक्कली शरणार्थी प्रकरणः दाेषी उम्काउने निर्दाेष फसाउने प्रयास हुँदैछः केपी शर्मा ओली

एक्सन खबर
जेठ, ७, २०८०


नक्कली शरणार्थी प्रकरणः दाेषी उम्काउने निर्दाेष फसाउने प्रयास हुँदैछः केपी शर्मा ओली

काठमाडाैं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिकीर गरेका छन् । प्रकरणमा दाेषी उम्काउने निर्दाेष फसाउने कार्य स्वीकार्य नहुने पनि बताए ।

आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भएको बताउँदै उनले त्यसबेला १ लाख १३ हजार ३०७ जना तेस्रो मुलुक गएपनि ६ हजार ७५५ बाँकी रहेको र उनीहरूमध्ये ४२९ को कार्ड बनिसकेको बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा बाेल्दै एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला बालकृष्ण पन्थी नेतृत्वमा समिति बनेको र त्यसले पठाएको प्रस्ताव हेर्न नभ्याएर होल्ड गरेको बताए ।

‘मुद्दैमुद्दा, नारैनारा, जुलूसै जुलूस, भित्तामा टाँसिदिन्छु भनेको छ, भुइँमा मिलाइदिन्छु भनेको छ । साँच्चै मिलाउँछन् कि क्या हो जस्तो स्थितिमा हामीले केही गरेनौं । त्यसपछि सरकारले अगाडि बढाउन फिर्ता पठाएछ ।’ प्रकरणमा त्यस बेलाकाे सरकारले केही निर्णय नगरेकाे भन्दै ओलीले आफूलाई कागजतिर हेर्ने समय पनि नभएकाे बताए ।

साथै, ओलीले त्यसपछि बनेकाे सरकारले तत्कालिन प्रतिवेदनमा ताेडमाेड गरेर नक्कली शरणार्थीका नाम राखेकाे जिकीर गरे । प्रकरणमा एमाले र आफ्नो नाम जोड्ने रहर गरेपनि सफल नहुने उनले बताए । ‘म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, प्रधानमन्त्री भएँ, छानबिन गरियोस् ।’ साथै उनले प्रकरणमा संलग्नकाे खाेजी गर्नु राज्यकाे काम भएकाे पनि बताए ।

प्रकरण छताछुल्ल भएपछि निर्दोष फसाउने प्रयास भइरहेको भन्दै उनले भने, ‘तथ्य प्रमाणसहित भन्दैछु, दोषीलाई उम्काउने प्रयास भइरहेको छ । निर्दोषलाई फसाउने कोसिस भइरहेको छ, यो बन्द गरियोस्, दोषीमाथि कारबाही दृढताका साथ अगाडि बढाओस् ।’ राजनीतिक अभीष्ट साध्न निर्दोषलाई फसाउनु पनि अपराध भएको ओलीले भने ।

यस्तै उनले प्रकरणमा सरकारले बाघ मारेको जसरी हल्ला गर्न जरूरी नभएको पनि बताए । गत वर्ष जेठ १९ कि २० गते उजुरी परेको भएपनि गुपचुप राखेको पाइएको दाबी गरे । ‘लेनदेन मिलाउने, केस दबाउने कोसिस भएछ, म सरकारमा थिइनँ, सरकारमा हुनेहरूले त्यतिसम्म गर्नुभएछ ।’ ९७५ जनासँग पैसा लिएर फारम भराएको भन्दै उनले पचाउन वा दबाउन सक्ने केस नभएको बताए । सरकारले भ्रष्टाचारविरोधी च्याम्पियन भएर केके न बाघ मारेको जस्तो उधुम हल्ला गरेको भन्दै ओलीले सरकारले जुँगामा ताउ लगाउनुपर्ने आवश्यकता नभएकाे पनि जिकीर गरे ।

प्रकरणमा संलग्नलाइ जाेगाउन नेताहरू र मन्त्रिपरिषदले हस्तक्षेप नगर्न र प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिन आग्रह समेत गरे । ‘गल्ती गर्नेतिर सरकार नजाओस्, भ्रष्टलाई कारबाही गर्नेतिर जाओस् ।’ साथै यसअघि पनि केही मान्छे भुटानी शरणार्थी बनेर गएको सुनेको भन्दै ओलीले यसबारे छानबिन गर्न आग्रह गरे ।

ओलीले तीन दलका नेताहरूको भेटलाई लिएर प्रश्न उठेकाे प्रति उनले भने, ‘तीन प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह पैदा भयो ? संसद बैठक पटक पटक बस्दा सन्देह पैदा भयो ? मन्त्रिपरिषद् पटक पटक बस्दा सन्देह पैदा भयो ? के भन्या यो ?’

तीन जना भेट्दा पनि आफूले ‘मेरो मान्छे बचाइदेऊ भनेर म्याउँ म्याउँ गर्न गएको जसरी प्रचार भएको भन्दै चित्त दुखाए । ओली बाघ भएकाे तर्क गर्दै उनले बाघ भाेकै बस्छ तर, घाँस खाँदैन भने ।

प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम दिन नसकेको ओलीकाे ठहर छ । न्याय र समृद्धिको योगफल नै लोकतन्त्र हो भन्दै ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे ।













0 प्रतिकृया