जापान पठाउने भन्दै दुई करोड ५३ लाख भन्दा बढी ठगी गर्ने अजय पक्राउ
एक्सन खबर
काठमाडाैं, ८ जेठ । जापान पठाउने भन्दै सर्वसाधारणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेकाे हाे । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै उनले ठगी गरेकाे खुलेकाे छ ।
मोरङ र झापाका ३६ जना युवाले उनीविरुद्ध ठगी आरोपमा उजुरी दिएका थिए । ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जनाए । राजवंशी विगत एक वर्षदेखि फरार अवस्थामा थिए । उनी शनिबार विराटनगरबाट पक्राउ परेका हुन् ।
बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेका थिए । ठगी प्रकरणमा उनका भाइ, बुहारी र बहिनी पनि आरोपित छन् ।
अजयबाट ठगीएको बताउने सुनबर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी, रंगेली ९ का विवेक राजवंशी, हरि राजवंशी लगायतले पैसा बुझाएका थिए । अजयले एक जना व्यक्तिबाट न्यूनतम पाँच लाख देखि १६ लाख रुपैयाँसम्म असुल गरेको पीडितले उजुरीमा उल्लेख गरेका छन् ।
अजयसँगै उनका भाइ रञ्जित, भाइ बुहारी अनुराधा र बहिनी विद्यासहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको थियो । अजयका बाबु विसमलाल भने केही महिनाअघि पक्राउ पछि जमानीमा छुटेका थिए ।
0 प्रतिकृया