काठमाडौं, ९ जेठ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गलत नभएपनि अपूर्ण भएको सांसद डा. सुनिल कुमार शर्माले बताएका छन् । नीति तथा कार्यक्रमले बर्तमान नेपाली जनताको विषम् परिस्थितिलाई पूर्णरुपमा समेट्न नसकेको डा. शर्माको धारणा छ ।
मंगलबार प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले पार्टीको इमान्दार कार्यकर्ता भएकोले नीति तथा कार्यक्रमलाई समर्थन जनाउँदै आफ्नो अन्तरआत्माले नीति तथा कार्यक्रम पूर्ण नभएको बताए ।
‘केही कुराहरु जनताको पक्षमा राख्न पाएको भए देशको दुरदराजमा कुना कन्दरामा बस्ने गरिब नेपालीहरुले फेरी आत्महत्या गर्नु पर्दैनथ्यो होला ।’ पछिल्लो दुुई चार महिनामा आर्थिक संकटकै कारण १८ सय भन्दाबढीले आत्महत्या गरेको उल्लेख गर्दै डा. शर्माले भने ।
अहिले हरेक दिन ७४ जना उद्योगी तथा नेपालीहरु बैंकको कालोसूचीमा परिरहेको जनाउँदै उनले १० महिनामा २२ हजार मानिसहरु कालोसूचीमा दर्ज भएको पनि दावी गरे । ‘विगत आठ दश महिना यता ८१ प्रतिशत कालोसूचीमा दर्ज भएका छन् । आउँदो असारसम्ममा शतप्रतिशत पर्दैछन् । यसले हाम्रो नीतिमा समस्या छ । भनेर देखाइरहेको छ ।’ सरकारको नीति किन असफल भयो सोच्नुपर्ने बेला आएको चर्चा गरे ।
बैंकहरुको महंगो ब्याजदरका कारण जनता मारमा परेको डा. शर्माको जिकीर छ । एक वर्ष अगाडीसम्म छ सात प्रतिशत व्याजमा बैंकले दिने पैसा अहिले २२ प्रतिशत पुग्नुमा सरकार नीहित अर्जनाइजेसनको हात रहेको ठोकूवा गरे । ‘सरकार नीहित अर्गनाइजेशनहरुले अरबौं पैसा लगेर नीजि बैंकहरुलाई महंगो व्याजमा फिक्स डिपोजिटमा कमिसन खान राखेका कारण जनता मारमा परेका छन् । २२ प्रतिशतसम्म ब्याज जनताबाट असुलिरहेका छ । यो लूटतन्त्र हो ।’ राज्यले जनतालाई लुट्न मिल्छ कि मिल्दैन ? भन्दै डा. शर्माले प्रश्न पनि गरे ।
अर्थतन्त्र धरासायी हुनुमा बर्तमान अर्थमन्त्री, प्रधानमन्त्री सहित गठबन्धनको सरकार दोषी रहेको डा. शर्माले जिकीर गरे ।
अहिलेको विद्यमान परिस्थितिबाट हज्जारौंको संख्यामा आत्महत्या गर्नसक्ने चेतावनी दिए । ‘अहिले छ, आठ महिनामा १८ सयको संख्यामा रहेको आत्महत्या केही महिनामा १८ हजारको संख्या पुग्न सक्छ ।’ तत्कालको समस्या बैंकहरुको चर्को व्याजदर भएको बताउँदै त्यसलाई सरकारले तत्कालै संवोधन गर्नुपर्ने डा. शर्माको सुझाब छ । ‘सरकारले एक मिनेट, एक घण्टा, एक दिन ढिलो नगरीकन, यसलाई इगोको रुपमा नलिइकन संवोधन गर्नैपर्छ । समस्याबाट भाग्न पाउनुहुन्न ।’
उनले राम्रा कामहरु गर्न सकिने अवस्था भएपनि हुन नसकेको बताए । सबै नीति तथा कार्यक्रम गलत नभएपनि नेपालले विश्व बजारमा सप्लाई गर्नसक्ने मेडिकल शिक्षालाई प्राथमिकतामा नराखेको जिकीर गरे ।
भएका मेडिकल कलेजहरु चल्न नदिने, विएण्डसी र मनमोहन जस्ता पूर्वाधार पुरा गरेर बसेकालाई सम्बन्धन नदिने, तर नयाँ खोल्छु भनेर सरकारले राम्रो काम नगरेको उनको भनाई छ । ‘तुरन्त पूर्वाधार पुरा गरेर बसेकालाई सम्बन्धन दिएर कक्षा सञ्चालन गर्ने व्यवस्था गरियोस् ।’ ११० वटा नर्सिङ कलेजहरु बन्द भएको जनाउँदै डा. शर्माले अस्पताल छैन भनेर नर्सिङ कलेज बन्द गर्ने अनी भएका मेडिकल कलेजहरुमा नर्सिङ कार्यक्रम चलाउन नदिने, सिटहरु कटाउने, छात्रवृत्ति कटौती गर्ने लज्जास्पद कार्य भएको बताउँदै जुनकार्य देशको निम्ति दुर्भाग्य भएको समेत बताए ।
हेर्नुहोस भिडियो
0 प्रतिकृया