टिकापुर काण्डका मुख्य दाेषी रेशम चाैधरीकाे सजाय माफी दिने तयारी
एक्सन खबर
काठमाडौं, ११ जेठ । टिकापुर काण्डका मुख्य दाेषी रेशम चाैधरीकाे सजाय माफी दिन सरकारले प्रकृया थालेकाे छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद चाैधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।
बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालय आइपुगेको तथा प्रधानमन्त्री समेतले राष्ट्रपति सँग छलफल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको टिम मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेका थिए ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । साेही व्यवस्था अनुसार चाैधरीकाे बाँकी सजाय माफी दिन लागिएकाे हाे ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर गृह मन्त्रालयले फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।
चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमागि अध्ययन भइरहेको र शुक्रबार फाइल गृह मन्त्रालयमा फिर्ता गरेर प्रक्रिया अघि बढ्नेछ । गृहले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नु अघि सरकारले आधार र कारण खुलाई राष्ट्रपति कार्यालयमा राय पेश गर्नुपर्नेछ ।
जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका रेशम चौधरीलाई सर्वोच्च अदालतले गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो ।
निश्चित अवधि सजाय भुक्तान गरेका कैदीहरुलाई असल चालचलनका आधारमा कैद छुट दिने र माफी मिनाहा गर्ने प्रकृया छ । राजनीतिक प्रतिशोधका कारण मुद्दा चलाएको र अदालतबाट दोषी ठहर भएको भए त्यसको व्यवस्थापनका लागि ‘माफी मिनाहा’को अवधारणा प्रयोग गरिन्छ ।
सरकारले गणतन्त्र दिवसकाे दिन जेठ १५ गते चौधरीलाई माफी मिनाहा दिन लागेको हो । उनी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।
0 प्रतिकृया