प्रेस चौतारी नेपाल सुनसरीद्वारा ७ बुँदे घोषणा पत्र जारी
एक्सन खबर
सुनसरी, १२ जेठ । प्रेस चौतारी नेपाल सुनसरीकाे वार्षिक साधारण सभाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । शुक्रबार इटहरीमा सम्पन्न वार्षिक साधारण सभाले श्रमजीवी पत्रकारहरूको पेसागत विकास, न्यूनतम पारिश्रमिक, पेसागत सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टी लगायत सात बुँदे घाेषणा पत्र जारी गरेकाे हाे ।
साधारण सभाकाे प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत थिए । वार्षिक साधारण सभाबाट जारी गरिएको घोषणा पत्रमा श्रमजीवी पत्रकारहरूको पेसागत विकास, न्यूनतम पारिश्रमिक, पेसागत सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टी, लाेककल्याणकारी विज्ञापन कटाैती लगायतका विषय समेटिएकाे छ ।
नेपाल पत्रकार महासंघले सञ्चालन गरेको शुद्धीकरणको अभियानमा चौतारीले शुद्धीकरणका मापदण्ड अक्षरशः लागु गर्न माग गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । यस्तै, चौतारीले महासंघ समक्ष पत्रकारहरूको विकासका कार्यक्रम तथा योजनाहरू ल्याउन पत्रकार माग पनि गरेको छ ।
चौतारीले कोशी प्रदेशमा मिडियाहरूको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गरेको छ ।
साधारण सभाले पत्रकार महासंघ कोशी प्रदेशका सचिव एवम् प्रेस चौतारी नेपाल सुनसरीका पूर्व अध्यक्ष देवेन्द्र कार्कीले स्वर्गीय पिता अमर बहादुर कार्कीको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारको लागि एक लाख राशिको अक्षय कोष बनाउने घोषणा गरेका छन् ।
यस वर्षको पहिलो अमर बहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल सुनसरीले धरानका पत्रकार रणध्वज लोहारलाई प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र चौतारी सुनसरीका पूर्व अध्यक्ष देवेन्द्र कार्की र श्रीमती सुलोचना कार्कीले नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्रले पत्रकार लोहारलाई सम्मानित गरेका थिए ।
प्रेस चाैतारी नेपाल सुनसरीले जारी गरेकाे घाेषणा पत्र
१. सम्पूर्ण श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक र पेशागत विकासको सुनिश्चितता गर्न यो साधारण सभा जोडदार माग गर्दछ ।
२. श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सम्बन्धी सबै पक्षहरुसँग माग गर्दछ ।
३. पत्रकार महासंघलाई वास्तविक श्रमजीवी पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित गर्न पत्रकार महासंघले शुद्धिकरणको अभियान सञ्चालन गरेकोमा प्रेस चौतारी नेपाल शुद्धीकरणका मापदण्डहरू पुर्णरुपमा अक्षरशः लागु गर्न माग गर्दछ र प्रेस चौतारी नेपाल सुनसरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्दछ ।
४. पत्रकारितालाई सम्मानित पेशाको रुपमा स्थापित गर्न सम्पूर्ण पत्रकारहरुको विकासका कार्यक्रम तथा योजनाहरू ल्याउन पत्रकार महासंघसँग माग गर्दछ । साथै सुरक्षित कार्य वातावरण बनाउन सम्बन्धित सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदछ ।
५. नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापन कटौती गर्ने भन्ने विज्ञापन बोर्डको जानकारी प्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै पत्रपत्रिकाले पाउँदै आएको विज्ञापनलाई नियमित रुपमा प्रदान गर्न माग गर्दछ ।
६. कोशी प्रदेशमा मिडियाहरुको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गर्दछ ।
७. प्रेस चौतारी नेपाल पारदर्शीता र जवाफदेहिताको पक्षपाती रहँदै आएको छ । त्यसैले अहिले विभिन्न क्षेत्रमा भ्रष्टाचारका घटनामा नेपाल सरकारले गरीरहेको छानविनलाई निष्पक्ष रुपमा अघि बढाउन समेत माग गर्दछ ।
२०८०/०२/१२ गते
0 प्रतिकृया