Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणकाे तालिका सार्वजनिक

एक्सन खबर
जेठ, १४, २०८०


प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणकाे तालिका सार्वजनिक

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे भारत भ्रमणकाे तालिका सार्वजनिक भएकाे छ । यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा प्रधानमन्त्री प्रचण्ड जाने भएका हुन् ।

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

साे क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेकाे छ । भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि छ ।

उनले जेठ २० गते काठमाडौँ फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा दुवै राष्ट्रकाे छ ।

प्रधानमन्त्री प्रचण्डको यस पटकको भ्रमणका लागि मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र मन्त्रालयले नयाँदिल्लीस्थित नेपाली दूतावाससँग मिलेर गृहकार्य गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अनुसार यस भ्रमणमा नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी, नेपालगन्ज एकीकृत चौकी उद्घाटन तथा भैरहवा एकीकृत जाँच चौकीको शिलान्यास, विराटनगर रेल यार्ड उद्घाटन, सिलिगुडी–झापा र अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन सम्बन्धी एजेन्डा उठाउने गृहकार्य छ ।

यस्तै, नेपाल टेलिभिजन च्यानल भारतमा प्रसारण, भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट उपलब्धता, बंगलादेशसँग विद्युत् व्यापारमा भारतको सहजीकरण र प्रसारण लाइन निर्माणमा सहयोग, २५ वर्षसम्म विद्युत् व्यापार सम्झौताका विषयमा कुरा हुने गृहकार्य छ ।

साथै, तल्लो अरुण र फुकोट कर्णालीमा २१.९ प्रतिशत बिजुली पाउने गरी सम्झौता, न्यु मोदी–लेखनाथ प्रसारण लाइन उद्घाटन तथा गोरखपुर प्रसारण लाइन शिलान्यासलगायतका एजेन्डा भारतसँग उठाउने विषयमा तयारी भइरहेको छ ।













0 प्रतिकृया