रेशम चाैधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस, सर्वाेच्चमा रिट
एक्सन खबर
काठमाडाैं, १४ जेठ । टीकापुर काण्डका प्रमुख दोषी पूर्वसांसद रेशम चाैधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएकाे छ । जेलजीवन बिताइरहेका रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद्ले सिफारिस गरेकाे हाे ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन् ।
मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले आवश्यक कानुनी प्रक्रिया पूरा गरी राष्ट्रपतिसमक्ष चौधरीको सजाय माफीसम्बन्धी निर्णय राष्ट्रपति कार्यालयलाई पठाउने छ ।
यसअघि रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्न भन्दै राष्ट्रपति पौडेलले गृह मन्त्रालयमा फाइल फिर्ता पठाइदिएका थिए ।
सरकारले चौधरीलाई आममाफी दिनेसम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालय पठाएको थियो । २०७२ भदौ ७ मा सात जना सुरक्षाकर्मी र एक जना बालकको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा चौधरीलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको छ ।
यसैविच चाैधरीलाई आममाफी दिने सरकारकाे निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) रिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन् ।
रिट सर्वोच्च अदालतमा पेश भइसकेकाे तथा अदालत प्रशासन अध्ययनको क्रममा रहेको छ । यसअघि उनले राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन् ।
0 प्रतिकृया