Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


‘संविधानले दिएको अधिकार संसदमा उपभोग गर्न नपाउने हो ?’ डा. काेइराला

एक्सन खबर
जेठ, १४, २०८०


‘संविधानले दिएको अधिकार संसदमा उपभोग गर्न नपाउने हो ?’ डा. काेइराला

काठमाडौं, १४ जेठ । संसद्मा उठेको शंकास्पद अनियमितताको अभिव्यक्तिलाई दलका शीर्ष नेता बसेर संसदको रेकर्डबाट हटाउने सहमति गर्नु विडम्बना भएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने उल्लेख गरे ।

डा. काेइरालाले पशुपतिनाथकाे सुनकाे जलहरी प्रकरणकाे विषयमा सत्तारूढ दलका सांसदले प्रतिनिधि सभामा दिएकाे अभिव्यक्ति हटाउन भएकाे सहमति गलत भएकाे जिकीर गरेका हुन् ।

‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने,’ उनले लेखेका छन्, ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनियमितता कति दिन ढाक्न सकिएला र ?’

उनले सांसदकाे गरिमा समेत कमजाेर हुँदै गएकाे बताएका छन् । ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ? संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं,’ डा. शेखरले भनेका छन् ।

माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिनाथकाे मुर्तीमा सुन भनेर केपी शर्मा ओली सरकारले पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले गत शुक्रबार संसद् अवरुद्ध गरेको थियो ।

यसपछि हिजो शनिबार शीर्ष नेताहरुबीच सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएसँगै अपरान्ह बसेकाे संसद बैठकमा सभामुखले उक्त अभिव्यक्तिकाे रेकर्ड हटाउन निर्देशन दिएका थिए ।













0 प्रतिकृया