सुनसरीको लौकही नाका बन्यो तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’
एक्सन खबर
इनरुवा, १४ जेठ । पछिल्लो समय धेरै हदसम्म नियन्त्रणमा रहेको अबैध तस्करी केही समय यता सुनसरीको लौकही नाकाबाट निर्वाद रुपमा सूरु भएको छ । सो क्षेत्रको सिमा पारी र वारीका तस्करहरुले अहिले दिनरात भारतबाट चिनी र मैदा अबैध रुपमा लौकही भित्र्याउँदै देशका मुख्य बजारहरुमा पठाउने गरेको पाइएको छ ।
तस्करहरुले साईकल र मोटरसाईकल लगायत पैदल मजदुरको प्रयोग गरी त्यस्ता उपभोग्य बस्तुहरु तस्करी गर्ने गरेका छन् । लौकही क्षेत्रमा भण्डारण गरी रातको समयमा ठुला सवारी साधनबाट देशभरी पठाउने गरेका छन भने, स्थानीय टेम्पुको प्रयोगरी २४ सै घण्टा समान तस्करी हुँदै आएको छ ।
स्थानीय सुरक्षा निकायको पूर्ण मिलोमतोमा हुँदै आएको सो तस्करी वापत त्यहाँ स्थापित सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी समेतले मोटो रकम नजराना बुझ्ने गरेका छन् । भन्सार कर्मचारीले थोरै परिणामको प्रज्ञापनपत्र बनाई कैयौं पटक ठुलो परिमाणमा तस्कर गराउन सहकार्य गर्ने गरेको तथ्य फेला परेको छ ।
छोटी भन्सार कार्यालय लौकहीमा कार्यरत्त कर्मचारीहरुले एक पटक काटिदिएको भन्सार कागजको अधारमा तस्करहरुले दैनिक २० पटक भन्दाबढी स्थानीय टेम्पुको प्रयोग गरी माल समान ओसारपसार गर्ने गरेका छन् । मैदाको मुल्य भारतीय बजारमा भन्दा नेपाली बजारमा झण्डै ४० प्रतिशत उच्च रहेका कारण केही महिना यता लौकही नाकासहित अन्य दक्षिणवर्ती नाकाहरुबाट अत्याधिक रुपमा मैदाको आयत बढेको छ ।
तस्करी नियन्त्रणका लागि सरकारले सक्रिय बनाएको बिभिन्न निकाय नै तस्करसँग मिलोमतोमा संलग्न हुँदा लौकहीसँगै अन्य नाकाहरुबाट करोडौंको अबैध मालसमान सुनसरी हुँदै देशका बिभिन्न क्षेत्रमा पुगिरहेका छन् । यसले सरकारी राजस्वमा समेत असर परेको छ ।
सुनसरीको लौकही क्षेत्रमा अपराध नियन्त्रण तथा सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको ठुलो दस्ताका पदाधिकारीहरु र तस्कर बिचको सेटिङमा हुँदै आएको तस्करीले दैनिक सरकारले उठाउने लाखौं राजस्व गुमेको छ ।
तस्करहरुको समूहले लौकही नाकाबाट खुलेयाम दैनिक दुई सयदेखि तीन सय बोरासम्म चिनी र मैदा भित्राउने गरेका छन् । भारतबाट मोटरसाईकल, साईकलको प्रयोग गरी दिनभरी लौकही सिमा क्षेत्रका घरमा अबैध माल समान भण्डार गर्ने र समयअनुकुल मिलाएर अटो, टेम्पु र सिटी रिक्सामा लोड गरी भोक्राहा नरसिंह, इनरुवा हुँदै सुनसरी सहित देशभरीका बजारसम्म पुर्याउने गरेको स्रोतको दाबी छ ।
अहिले उक्त नाकाबाट चिनी, मैदा मात्र नभई अन्य सरसामान पनि तस्करीको माध्यमबाट भित्रिइरहेको छ । सुनसरी जिल्लामा लौकही नाकासहित अन्य नाकाहरुबाट नेपालतर्फ चिनी र मैदा तस्करी हँुदै आएको छ । भारतसँग खुल्ला सिमानाका कारण सुनसरीमा दैनिक सयौँ क्विन्टल चिनी र मैदा चोरी निकासी हुने गरेको छ ।
सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र भन्सार कर्मचारीको मिलोमतो मै सुनसरीको लौकही नाकाबाट भारतिय मालसमानको तस्करी हुने गरेको हो । तस्करहरुले झोला, पोका र ठूलाठूला बोरासमेतमा राखेर भारतीय चिनी, मैदासहित अबैध माल समान तस्करी गर्ने गरेका छन् ।
लौकही सीमा नाकाको वरपर खेतमा चिनी, मैदा लगायत अन्य माल समान तस्करी गर्ने तस्करहरुको मेला लागेको देखिन्छ । सीमा नाकामा अवस्थित गाउँका बासिन्दाहरुको भनाइ अनुसार तस्करहरु दिनको समयमा कमै देखिएपनि रातको समय रातभर ओहोरदोहोर गर्छन् ।
नाम प्रकासित नगर्ने शर्तमा एक स्थानीयबासिन्दाले भने–‘लौकही नाकामा सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा सरसामान तस्करी गर्ने कार्य भइरहेको छ ।’ भारतीय सीमानाकासँग जोडिएको लौकही क्षेत्रमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको उनको भनाई छ ।
नेपाल भारत सीमा लौकही क्षेत्रमा सञ्चारकर्मीको एक टोलीले निरीक्षण गर्दा शनिवार सशस्त्र प्रहरीले तस्करहरुसँग मिलि रकम लिएर सामान छोेड्ने गरेको भेटिएको छ । सुनसान स्थानमा रहेको सीमानाकामा अटो टेम्पु, सिटी रिक्सा, मोटरसाइकल, साइकल र पैदल सामान ओसारपसार गर्नेहरुको भीड लाग्ने गरेको छ । सिमावर्ती भारतीय बजार बसमतिया बिरपुरबाट व्यापारीहरुले चिनी, मैदा, खाने तेल, मसला, किराना सामान तथा इलेक्ट्रोनिक सामान ल्याउने गरेका छन् ।
सुनसरी जिल्लाका कुनैपनि क्षेत्रमा तस्करी जिरो रहेको रटान लगाउँदै आएको सुनसरी प्रशासन र सुरक्षा अधिकारीहरुको रठान झुठो भएको छ । सुनसरी जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले तस्करी नियन्त्रणका लागि सिमा क्षेत्रमा सशस्त्र प्रहरी सक्रियताका साथ काम गरी रहेको बताउँदै विगतको भन्दा अहिले तस्करी कम भइरहेको बताइन् । उनले तस्करी नियन्त्रणमा आफुसँगै सुरक्षाकर्मीको टोली चनाखो भएर लागेको बताइन् । सिमा क्षेत्रमा स्थापना गरिएका छाेटी भन्सार कार्यालयहरू गैरजम्मेवार बनेका छन् ।
0 प्रतिकृया