Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


पात्र जिम्मेवार नबन्दा पद्दति अलाेकप्रीय भयाेः भगबती चाैधरी

एक्सन खबर
जेठ, १५, २०८०


पात्र जिम्मेवार नबन्दा पद्दति अलाेकप्रीय भयाेः भगबती चाैधरी

काठमाडौं, १५ जेठ । जनतालाई विकास, समृद्धि र असल शासन दिने लक्ष्यका साथ ल्याइएको गणतन्त्रात्मक शासन व्यवस्था संसारकै सर्वोत्तम पद्दति भएपनि नेपालमा लोकप्रिय बन्न नसक्नुमा पद्दति हैन पात्र जिम्मेवार रहेको पूर्वमन्त्री भगबती चौधरीले बताएकी छन् ।

१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेतृ चौधरीले गणतन्तात्मक शासन पद्दति संसारकै सर्वोत्तम पद्दति भएपनि पात्रहरु जिम्मेवार नबन्दा असफल भइरहेको बताएकी हुन् । ‘गणतन्त्रात्मक शासन व्यवस्था संसारकै सर्वोत्तम पद्दति भएपनि हाम्रो मुलुकमा लोकप्रिय बन्न नसक्नुमा पद्दति हैन पात्र जिम्मेवार छन् ।’ सामाजिक सञ्जालमा लेख्दै चौधरीले भनेकी छन् ।

गणतन्त्र स्थापना पश्चात बनेका अधिकांश सरकारले जनताको परिवर्तन, विकास र सुशासनको अभिलाषालाई संस्थागत गर्न नसकेको उनको बुझाई छ । जनान्दोलन २०६२/०६३ ले १० वर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउने काम गरेको उल्लेख गर्दै सांसद चौधरीले शान्ति प्रक्रिया सुरु भएसँगै देशलाई नयाँ संरचनामा लैजाँदै राजनीतिक स्थिरता, विकास र सुशासन प्रारम्भ हुन्छ भन्ने जनताको आशा र सपनामा तुषारापात गर्ने काम दलहरुबाट भएको जिकीर गरेकी छन् । ‘राजनीतिक स्थिरता, संविधान लेखन, विकास र सुशासनका कार्यलाई तदारुकताका साथ अगाडी बढाउनु पर्नेमा आफुलाई परिवर्तनको हिमायती भन्नेले पनि गर्न सकेनन् । सत्ताको स्वादमा बरालिँदा जनतामा ब्यापक निराशा छायो ।’ चौधरीको बुझाई छ ।  

२०६४ सालको संविधान सभाले संविधान दिन नसकेपनि मुलुकलाई एकात्मक शासन व्यवस्थाबाट संघात्मक व्यवस्थामा ल्याई पुर्याएर सिंहदरबारको अधिकार गाउँगाउँ पुर्याउने आधार बनाएको र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेको बताउँदै चौधरीले जनताले चाहेको परिवर्तनको मुख्य सपनामाथि भने गणतन्त्र स्थापनापछि तुषारापात गर्ने काम भएको पनि बताएकी छिन् ।

‘राजनीतिक अस्थिरता, कूशासन, भ्रष्टाचार झनै मौलायो । अपेक्षित रुपमा राज्य नचल्दा जनतामा गणतन्त्र प्रति वितृष्णा बढ्दो छ । त्यसलाई हटाउँदै मुलुकलाई समृद्धशाली बनाउनु आजको मुख्य चुनौति हो ।’ विज्ञान र प्रविधिले व्यवस्था, अवस्थालाई नै दिनदिनै बदलिइरहेको परिवेशमा हामीहरु अझै राजनीतिक अधिकार प्राप्तिका लागि लडिरहनु दुःखद भएको चौधरीको विचार छ ।

उनले नेपाल भौगोलिक रुपमा सानो भएर समस्या उत्पन्न भएको नभई सानो सोच र विचारबाट राजनीति अगाडी बढ्दा समस्या भएको दावी गरेकी छन् । ‘सानो देश भएर हामी कहाँ समस्या भएको हैन । सानो सोच, कमजोर विचार, व्यक्तिगत स्वार्थ प्रेरित राजनीतिले मुलुक विगारेको हो । यस कुरामा हामी सबै दलहरु कुनै न कुनै रुपमा दोषी छौं ।’ कुनैपनि दलले म ठिक छु, भन्ने अवस्था नरहेको चौधरीको जिकीर छ ।

सत्तामा पुग्ने मात्र ध्येयले गरिएको राजनीतिले कसैलाई फाइदा नपुग्ने भन्दै चौधरीले सिद्धान्त र विचारको राजनीतिलाई पैतलाले कुल्चिएर स्वार्थको लागि गरिने राजनीतिले राजनीतिक दल, देश र जनता कसैलाई फाइदा नपुग्ने बताएकी छन् । ‘डेढ दशकको राजनीतिमा सिद्धान्तलाई बागमतीमा बगाएर स्वार्थको जलप लगाउने काम धेरै भयो । अब पनि हामीहरु नचेत्ने होभने २००७ सालदेखि नेपाली राजनीतिमा आफुलाई स्थापित गरेका दलहरु २०८४ सालको निर्वाचनमा बढारिने संकेत देखिएसकेको छ ।’ देशका लागि, जनताका लागि र भावी सन्ततीका लागि आफुले आफैंलाई सच्याउनु पर्नेमा चौधरीले जोड दिएकी छिन् ।













0 प्रतिकृया