गणतन्त्र दिवसका अवसरमा कसले के भने ?
एक्सन खबर
काठमाडाैं, १५ जेठ । बारम्बारको व्यवस्था परिवर्तन मुलुकले धान्न नसक्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । १६औँ गणतन्त्र दिवसकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पाैडेलले लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा जनतासामू गरिएका वाचा कति पूरा भएर भन्ने समीक्षा गर्न पनि आवश्यक रहेको बताए ।
अहिलेको व्यवस्थाले नेपाली जनताको हातमा अधिकार पुगेको र राज्यस्तरमा पनि जनताको पहुँच र अधिकार स्थापित भएको बताउँदै केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग राष्ट्रले अब धान्न नसक्ने बताएका छन् ।
'आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ,' राष्ट्रपति पौडेलले भनेका छन् । जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै रहेको उल्लेख गर्दै सत्तरी वर्ष सङ्घर्ष गरेर देशमा एउटा प्रणालीको टुङ्गो लगाएको बताएका छन् ।
गणतन्त्र जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्याउन सर्वोत्कृष्ट माध्यमको काम गर्ने भएपनि देशको वर्तमान परिस्थितिले त्यसलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती देखिएको राष्ट्रपतिकाे भनाइ छ । 'यो चुनौतीको सामना गर्न शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता हो ।’ पाैडेलले भनेका छन् ।
लोकतन्त्रको विकास लोकतन्त्र भित्रैबाट : प्रधानमन्त्री प्रचण्ड
यस्तै गणतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।
जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण सङ्घर्षको जगमा विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको प्रधानमन्त्रीले स्मरण गरेका छन् ।
‘एकात्मक सामन्ती केन्द्रिकृत राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताका प्रतिनिधिबाट जनताले शासन गर्न पाउने सङ्घीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १५ वर्ष पूरा भएको छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘यसर्थमा आजको दिनलाई नेपालको राजनीतिक इतिहासलाई नयाँ युगतर्फ लैजाने ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्छ । सयौँ वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य कदापि थिएन ।’
प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयन चुनौती देखिए पनि हामीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको उल्लेख गरेका छन् ।
नागरिक हकअधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले भनेका छन्, ‘लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो । यसो भएता पनि महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ ।’
यता उपराष्ट्रपति रामसहाय यादवले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अङ्गीकार गरेको बताएका छन् । यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिङ्गो मुलुकभित्रको बहुरूप र विविधता झल्किने प्रारूप एउटा साझा चौतारी र फूलबारी झैं देख्न सकिरहेको बताएका छन् ।
‘हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण मात्र गरेको छैन, सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोड्ने काम पनि गरेको छ । पूर्व–पश्चिम, मधेस, पहाड र हिमाललाई एकताको सूत्रमा बाँध्ने काम पनि यसले गरेको छ । यसभित्र सङ्घीयता, समावेशिता र समानतामार्फत सबै क्षेत्र, भूगोल र तप्काले आ–आफ्नो अधिकारको उपयोग गर्दै नेतृत्व र प्रतिनिधित्व गर्न सफल भएकामा म खुसी व्यक्त गर्न चाहन्छु ।’ उपराष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन् ।
उपराष्ट्रपति यादवले कमीकमजोरीहरूलाई सच्याउँदै प्रगति पथमा निरन्तर लम्कन र अग्रगमन उन्मुख हुनु निर्विकल्प रहेकोमा जोड दिएका छन् ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
सभापति देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन् गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने ओलीकाे भनाइ छ ।
‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस’ शुभकामना सन्देशमा भनिएकाे छ ।
लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्रमार्फत राज्य स्रोतमाथिको हालीमुहाली गुमेकाबाट ‘लोकतान्त्रिक व्यवस्थामा वेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो’ भन्ने जस्ता मिथ्या प्रचार सुरु गरिएको उनको भनाइ छ ।
0 प्रतिकृया