जेलबाट निस्कँदै रेशम चाैधरीले भनेः टीकापुर घटनाको पुन: छानबिन हुनुपर्छ
एक्सन खबर
काठमाडाैं, १५ जेठ । टिकापुर प्रकरणका मुख्य अभियुक्त पूर्व सांसद रेशम चाैधरी आम माफी पाएर रिहा भएका छन् । १६औँ गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर उनी रिहा भएका हुन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी सोमबार बिहान सवा आठ बजे रिहा भए । ‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु । टीकापुर घटनाको पुन: छानबिन हुनुपर्छ, यो घटनामा निर्दोष कोही पर्नु हुँदैन ।’ जेलबाट रिहा हुँदै चाैधरीले भने ।
चौधरीलाई लिन डिल्लीबजार कारागारमा उनकी श्रीमती समेत रहेकी नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन् ।
रिहा भएसँगै चौधरी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगे । पुल्चोकमा उनको स्वागतका लागि सयौंको संख्यामा नेता कार्यकर्ता उपस्थित भएका छन् । चौधरी छुट्ने भएपछि उनका समर्थक र नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता आज बिहानै कारगार परिसरमा जम्मा भएका थिए ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक नाबालकको ज्यान गएकाे घटनामा उनी मुख्य दाेषि ठहर भएका थिए । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।
त्यही घटनामा मुख्य दोषी ठहर गर्दै रेशम चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो । पछि दिपायल उच्च अदालतले पनि जन्मकैदको सजाय सुनाएको थियो । भने, गत जेठ २ गते सर्वोच्च अदालतले पनि चौधरीलाई सफाइ दिन अस्वीकार गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरेको थियो ।
टिकापुर प्रकरण राजनीतिक घटना भएकाे भन्दै सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आम माफी सिफारिस गरेका थिए ।
0 प्रतिकृया