Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रस्तुत हुँदै

एक्सन खबर
जेठ, १५, २०८०


आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रस्तुत हुँदै

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री प्रकाशशरण महतले दिउँसो चार बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् । सरकारले जेठ १५ गते आज बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिएको छ । राष्ट्रिय योजना आयोगले अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको थियो ।

बजेटमा विगतमा जस्तो स्रोत सुनिश्चित नभएका परियोजनामा रकम विनियोजन नहुने र सुधारको कार्यक्रमलाई समावेश गरिनेछ । चल्न नसकेका केही सार्वजनिक संस्थानको निजीकरण तथा मर्जरको घोषणा बजेटमा हुनेछ । बिलासी बस्तुको आयातमा लाग्ने कर बढ्नेछ ।

विदेशबाट आउने मदिरालगायतको वस्तुको कर बढ्ने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने र आर्थिक रुपले सक्षम वर्गलाई नलिएमा प्रोत्साहन दिने खालको योजना बजेटमा ल्याउने तयारी छ । राजस्वको स्रोत खुम्चिएको अवस्थामा बजेट खर्च व्यवस्थापनका स्रोतको रूपमा वैदेशिक सहायता र ऋणलाई नै पहिलो प्राथमिकतामा राखेको जनाइएको छ ।

बजेटसँग विनियोजन विधेयक, आर्थिक विधयेक, राष्ट्र ऋणसम्बन्धी विधयेक र ऋण तथा जमानत विधयेक छन् । यी विधयेकको सारांश र महत्वपूर्ण विषय समावेश गरी बजेट भाषण गरिन्छ । आज सार्वजनिक हुने बजेट कार्यान्वयन भने साउन १ गतेदेखि हुन्छ ।













0 प्रतिकृया