ब्यूतियाे सांसद विकास काेषः प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड
एक्सन खबर
काठमाडाैं, १५ जेठ । सरकारले सांसद विकास काेष ब्यूताएकाे छ । संघीय सांसदको निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम सरकारले ब्युँताएको हाे । अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष ०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँताइएकाे जानकारी दिए ।
‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ सुरु गर्न सांसदहरूकाे अनुराेध स्वीकार्दै सरकारले आगामी वर्ष ०८०/८१ को बजेटमार्फत सांसद विकास कोषका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा राखिएको छ । 'निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत संबोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु,' बजेट भाषणमा अर्थमन्त्रीले भने ।
यस कार्यक्रम अन्तर्गत न्यूनतम १ करोडको आयोजना बनाउनुपर्ने मन्त्री महतकाे भनाइ छ । त्यस्ता आयोजनामा सडक, सिंचाइ, खानेपानी, शिक्षा, खेलकुद लगायतका आयोजना हुनुपर्ने व्यवस्था गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सांसद विकास काेष खारेज गरेका थिए । त्यसअघि सांसदले आफूखुसी खर्चन पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना छनोटका लागि सरकारले रकम विनियोजन गर्दै आएको थियो ।
२०७७/७८ मा प्रत्येक निर्वाचन क्षेत्रका लागि ४ करोड रुपैयाँ छुट्याइएको थियो भने त्यसको अघिल्लो वर्ष ६ करोड विनियोजन भएको थियो । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा रहेको समितिमार्फत कार्यक्रम छनोट गर्ने गरी उक्त रकम खर्चने गरिन्छ ।
0 प्रतिकृया