Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


प्रधानमन्त्री प्रचण्ड आज भारतकाे चारदिने भारतमा जाँदै

एक्सन खबर
जेठ, १७, २०८०


प्रधानमन्त्री प्रचण्ड आज भारतकाे चारदिने भारतमा जाँदै

काठमाडाैं, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयले नेपाल एयरलाइन्सको नियमित उडानमार्फत् दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यतालिका रहेको  जानकारी दिएकाे छ ।

मध्याह्न १२:२५ बजे त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्ड भारत प्रस्थान गर्ने कार्यतालिका छ । तेस्रोपटक प्रधानमन्त्री बनेपछिको यो उनको पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो २:२५ बजे दिल्ली अवतरण हुने र त्यहाँ उनलाई भारतका राज्यमन्त्री र विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नेछन् ।त्यसपछि प्रधानमन्त्री सीधै होटल मौर्य प्रस्थान गर्नेछन् ।

हाेटलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गर्ने कार्यतालिका रहेकाे छ । डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुने र प्रवासी नेपालीहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सचिवालयले जानकारी दिएकाे छ ।

प्रधानमन्त्री प्रचण्डकाे भारतीय प्रधानमन्त्री माेदीसँग भने भाेली बिहीबार मात्र भेटवार्ता हुनेछ । बिहीबार बिहान ११:०५ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यतालिका छ ।

त्यसअघि उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्नेछन् । समकक्षी माेदीसँगकाे भेट लगत्तै केही परियोजनाको उद्घाटन हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन् ।

साेही दिन ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । अपराह्न साढे चार बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग समेत शिष्टाचार भेट गर्नेछन् ।

साथै, बिहीबार नै साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने र इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ । त्यही दिन उनले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्नेछन् ।

भ्रमणको चौथो दिन अपराह्न ४:२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्डको स्वदेश फर्कने बताइएको छ । भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल रहेका छन् ।

त्यस्तै मुख्यसचिव शंकरदास वैरागीसहित ८ जना सचिवहरू तथा केही उद्याेगी, व्यवसायी र सञ्चारकर्मीहरू पनि भ्रमण टोलीमा रहेको बताइएको छ।













0 प्रतिकृया