Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


भारतमा प्रधानमन्त्री प्रचण्डलाई राज्यमन्त्री मिनाक्षीद्वारा स्वागत

एक्सन खबर
जेठ, १७, २०८०


भारतमा प्रधानमन्त्री प्रचण्डलाई राज्यमन्त्री मिनाक्षीद्वारा स्वागत

 काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतकाे नयाँदिल्ली पुगेका छन् । चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्रीलाई भारत सरकारको विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विदेश राज्‍यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए । राजदूत शंकर शर्माले ट्वीटरबाट प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकी प्रदर्शन गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीकाे भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजालसँगै छोरी गंगा दाहाल लगायत रहेका छन् ।

त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डकाे भारतीय प्रधानमन्त्री माेदीसँग भाेली बिहीबार मात्र भेटवार्ता हुनेछ । बिहीबार बिहान ११:०५ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यतालिका छ ।

त्यसअघि उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्नेछन् । समकक्षी माेदीसँगकाे भेट लगत्तै केही परियोजनाको उद्घाटन हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

प्रधानमन्त्रीकाे याे तेश्राे भारत भ्रमण हाे । जेठ २० गते टोली स्वदेश फर्किने कार्यक्रम छ ।















0 प्रतिकृया