Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


‘२०८४ मा म उठ्न्या हो, चुनाव जित्न्या हो’ रेशम चाैधरी

एक्सन खबर
जेठ, १७, २०८०


‘२०८४ मा म उठ्न्या हो, चुनाव जित्न्या हो’ रेशम चाैधरी

काठमाडाैं, १७ जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफू फेरि चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका छन् । उनले २०८४ मा हुने निर्वाचन लड्ने बताएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका चाैधरीले बुधबार कैलालीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा २०८४ मा हुने आम निर्वाचनमा उम्मेदवार बन्ने बताए ।

टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेकाहरुलाई भेट गर्दै चाैधरीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफ्नो राजनीतिक यात्राको बाटो नछेकिएको जिकीर गरे । जन्मकैदको सजायबाट आममाफी पाएपनि जनप्रतिनिधि बन्न कानुनी बन्देज छ नि भन्ने प्रश्नको जवाफमा चाैधरीले भने,‘कसले भन्यो छेकिएको छ ? २०८४ मा म उठ्न्या हो, चुनाव जित्न्या हो ? कानी बन्देज कहाँ छ र कहीँ छैन, चुनाव लड्न्या हो, जित्न्या हो र यो देशको बागडोर सम्हाल्ने हो ।’

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षकको पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दिएकाेमा उनले अदालतले गर्ने जुुनसुकै फैसलाको सम्मान गर्ने पनि बताए । ‘देशको नागरिक भएको नाताले संविधान र कानुनको पूर्ण सम्मान गर्छु । लोकतन्त्रमा संविधानले सबैलाई स्वतन्त्रताको अधिकार दिएको छ । चित्त दुःखेको विषयमा जाने, गुनासो गर्ने हक सबैलाई छ । न्यायालयले गर्ने जुनसुकै फैसलाको पनि सम्मान गर्छु ।’ उनले भने ।

चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक र प्रहरीका परिवारले न्याय पाउनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने बताएका छन् । यद्यपि टीकापुर घटनाको वास्तविकता अर्कै भएपनि कथा अर्कै बनाइएको चौधरीले टिप्पणी गरे ।

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।














0 प्रतिकृया