प्रधानमन्त्री भारत भ्रमणः समकक्षीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक
एक्सन खबर
काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।
बुधबार दिउँसो दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डकाे आज बिहान ११ बजे हैदरावाद हाउसमा समकक्षी प्रधानमन्त्री मोदीसँग आधा घण्टा भेटवार्ताको कार्यसूची तय भएको छ ।
त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी भएपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यसूची रहेकाे छ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेटकाे समय निर्धारण गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।
0 प्रतिकृया