सात सम्झौतामा नेपाल र भारतबीच हस्ताक्षर (फाेटाे फिचर सहित)
एक्सन खबर
काठमाडौं, १८ जेठ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।
साे अवसरमा बाेल्दै समकक्षी माेदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताए । संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको माेदीकाे भनाइ छ । ‘आज मैले र प्रधानमन्त्री प्रचण्डले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’ माेदीले भने ।
यस्तै मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने पनि बताए । दुई देशको सम्बन्धलाई हिमालय जति उचाइ दिन काम गरिरहने बताए । उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं ।’
आजै मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेटवार्ता भएकाे हाे ।
भारत र नेपालबीच भएका सात सहमति
१. नेपाल–भारत पारवहन सम्झौता नवीकरण
२. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी
४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने
५. ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए
६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति
७. नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता
0 प्रतिकृया