जिआइएसकाे विशेष तालिम लिने नेकका विद्यार्थीहरू दिक्षित
एक्सन खबर
ललितपुर, १९ जेठ । इन्जिनियरिङ क्षेत्रमा स्नातकोत्तर विद्यार्थीहरू माझ लोकप्रिय कार्यक्रममा ट्रान्सपोर्टेसन इन्जिनियरिङ एक नम्बरमा पर्दछ । नेपाल इन्जिनियरिङ कलेज (नेक) मा चौध वर्ष अगाडि नेपालमै पहिलो पटक सुरु गरिएको यो कार्यक्रममा हरेक वर्ष भर्नाकोलागि विद्यार्थीहरूको चाप रहेको छ ।
नेपालमा यातायात सञ्जालको विकास हुने क्रममा रहेको र यसकोलागि ट्रान्सपोर्टेसन विधाका विद्यार्थीहरूको माग विभिन्न सरकारी तथा निजी निकायहरूमा हुने गरेकोले पनि यो कार्यक्रम लोकप्रिय भएको नेकका ट्रान्सपोर्टेसन इन्जिनियरिङ कार्यक्रमका संयोजक उपप्राध्यापक इन्जिनियर राजेश खड्का बताउँछन् ।
ट्रान्सपोर्टेसन इन्जिनियरिङ कार्यक्रमका बीस जना विद्यार्थीहरूलाई आफ्नो कार्यक्षेत्रमा अति उपयोगी जिआइएस सीप सिकाउन नेकले विशेष तालिम कार्यक्रम सञ्चालन गरेकाे थियाे । उपप्राध्यापक प्रतिक सिं ठकुरी प्रमुख स्रोत व्यक्तिकारूपमा रहेको यस तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेका बीस जना विद्यार्थीहरूलाई आज एक कार्यक्रमका बीच कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रमाणपत्र वितरण गरी दिक्षित गरेका थिए ।
सिकेको सीप स्नातकोत्तर तहको आ–आफ्नो शोधपत्र तयार गर्न तथा व्यवहारमा धेरैनै उपयोगी हुने कार्यक्रममा दिक्षित भएका विद्यार्थीहरूले बताए ।
विश्वविद्यालयको ट्रान्सपोर्टेसन इन्जिनियरिङ कार्यक्रमको आधारभुत पाठ्यक्रममा नभएता पनि जिआइएस चलाउन जानेका इन्जिनियरहरूको माग श्रम बजारमा अत्याधिक रहेकोले दिक्षित भएका विद्यार्थीहरूको औपचारिक अध्ययन सकिनासाथ जागिर खोज्न धेरै मेहनत गर्न नपर्ने बरू जागिर नै ती विद्यार्थीहरूलाई खोज्दै आउने उपप्राध्यापक इन्जिनियर गोपाल गौतमले बताए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा नेकको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहीले सम्बन्धीत सबैलाई आभार व्यक्त गरिन् । २०५१ सालमा स्थापना भइ इन्जिनियरिङ विधाका स्तानक, स्नातकाेत्तर तथा मास्टर्स तहमा कार्यक्रम चलाउँदै आइरहेकाे यस कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित छ ।
0 प्रतिकृया