नेकपा एमालेमा प्रदेश इन्चार्जहरू हेरफेर, उपाध्यक्षहरूलाई पनि जिम्मेवारी
काठमाडौं, १९ जेठ । नेकपा (एमाले) ले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ ।शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय सचिवहरूलाई प्रदेशको इन्चार्ज तोकेको हो ।
नयाँ कार्यविभाजन अनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज छविलाल विश्वकर्मा तोकिँदा कर्णाली प्रदेशको इन्चार्ज लेखराज भट्टलाई बनाइएको छ । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार लुम्बिनी प्रदेशको इन्चार्ज पद्मा अर्याल, गण्डकीको इन्चार्ज गोकर्ण विष्ट, मधेश प्रदेशको इन्चार्ज योगेश भट्टराई बनेका छन् ।
कोशी प्रदेशको इन्चार्ज रघुवीर महासेठ बनेका छन् । भने, बागमती प्रदेश भने केन्द्रीय कार्यालयले नै विशेष खालको संयोजन गर्ने ज्ञवालीले जानकारी दिएका छन् ।
बैठकले बरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।
बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले योजना तथा नीति (अर्थ तथा योजना विभाग, परराष्ट्र मामिला विभाग र राष्ट्रिय हित तथा सुरक्षा विभाग), समूहको संयोजन गर्नेछन् । उपाध्यक्षहरू युवराज ज्ञवालीले मानवस्रोत विकास ( शिक्षा तथा मावनस्रोत विभाग, विज्ञान तथा प्रविधि विभाग, श्रम तथा रोजगार विभाग, साहित्य, कला तथा संस्कृति विभाग र युवा तथा खेलकुद विभाग) समूहकाे संयाेजन गर्नेछन् ।
अष्टलक्ष्मी शाक्यले सामाजिक विकास (सामाजिक सेवा विभाग, सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग, उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग, विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग र स्वास्थ्य तथा जनसङ्ख्या विभाग) समूह, रामबहादुर थापाले कृषि तथा उद्यमशीलता ( कृषि तथा पशुपन्छि विकास विभाग, उद्योग, बाणिज्य तथा आपूर्ति विभाग, भूमि व्यवस्था विभाग, बन तथा वातावरण विभाग र सहकारी तथा गरिबी निवारण विभाग) समूहको संयोजन गर्नेछन् ।
त्यसैगरी विष्णुप्रसाद पौडेलले संगठन, प्रशिक्षण र प्रचार (संगठन विभाग, पार्टी स्कुल विभाग, केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग, प्रचार तथा प्रकाशन विभाग र वित्त तथा कोष व्यवस्थापन विभाग) समूह, सुवास नेम्बाङले सुशासन तथा सेवा प्रवाह (सङ्घीय मामिला तथा सामान्य प्रशासन विभाग, संसदीय विभाग, स्थानीय विकास विभाग, कानुन विभाग र निर्वाचन विभाग) समूह र सुरेन्द्र पाण्डेले पूर्वाधार निर्माण र विकास ( भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, ऊर्जा, जलस्रोत तथा सिंचाइ विभाग, पर्यटन तथा नागरिक उड्डयन विभाग र खानेपानी तथा सरसफाई विभाग) समूहको संयोजन गर्ने गरी कार्यविभाजन भएको छ ।
बैठकले केही विभागको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम रहेका छन् ।
बैठकले जिल्ला इन्चार्जको जिम्मेवारी फरक भूगोलमा स्थायी कमिटी सदस्य र पोलिटव्यूरो सदस्यहरूलाई दिएको छ भने केन्द्रीय कमिटी सदस्यहरूलाई पालिकास्तरको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका नेताहरू लगायत १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । मनोनीत हुनेहरूमा मुकुन्द न्यौपाने (काठमाडौं), प्रेमबहादुर सिंह (कालिकोट), भागवत विश्वासी (दाङ), चुडामणि जङ्गली (कास्की), हेमराज राई (भोजपुर), ठम्मर विष्ट (सुर्खेत), उमाशंकर अरगरिया (धनुषा), अजय गुप्ता (रौतहट), एकवाल मियाँ (बारा), गणेश खनाल (गुल्मी), प्रेम तामाङ (रसुवा), यमबहादुर परियार (चितवन) र सुरेन्द्र मानन्धर (काठमाडौं) छन् ।
0 प्रतिकृया