Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


पूर्वमहान्यायाधिवक्ताहरु उभिए नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तकाे प्रतिरक्षामा

एक्सन खबर
जेठ, २१, २०८०




पूर्वमहान्यायाधिवक्ताहरु उभिए नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तकाे प्रतिरक्षामा

काठमाडौं, २१ जेठ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको प्रतिरक्षाका लागि वकालतनामा लेखाएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार सुरु भएको थुनछेक बहसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षाका लागि कांग्रेस निकटको प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) को टोलीले तयारी गरेको हाे ।

खाँणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले समेत बहस गर्दैछन् । बरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे लगायतले पनि खाँणको पक्षमा बहस गर्नेछन् ।

साथै, ललित बस्नेत, डीएलए अध्यक्ष योगेन्द्र अधिकारी लगायत करिव २० भन्दा बढी कानुन व्यवसायीले खाँणको प्रतिरक्षाका लागि बहस गर्न वकालतनामाको फर्म भरेका छन् ।

यस्तै, नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडाल नेतृत्वका कानुन व्यवसायीले बहस गर्ने भएका छन् । अर्का अभियुक्त सचिव टेकनारायण पाण्डेको प्रतिरक्षाका लागि पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ उभिएका छन् ।

कानुन व्यवसायीहरुले वकालतनामा लेखाउने क्रम चलिरहेकाले कानुन व्यवसायीहरुको संख्या बढ्ने छ । आइतबार जिल्ला अदालतमा थुकछेक बहस सुरु हुँदा पूर्वमहान्यायाधिवक्ताहरूले वकालतनामाकाे फर्म भरेका हुन् ।

प्रकरणमा सरकारी पक्षको नेतृत्व जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले गर्नेछन् । भने, बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र तयार पार्ने काममा संलग्न भएका ८ जना सरकारी वकिललाई नै जिम्मेवारी दिएको छ ।

जाहेरीकर्ताहरुको तर्फबाट अधिवक्ता स्वागत नेपाल, सुशील शर्मा सापकोटा लगायतले वकालतनामा लेखाएका छन् । प्रकरणमा बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई लगायतले कुनैपनि पक्षबाट बहस नगर्ने भएका हुन् ।













0 प्रतिकृया