ललितपुरको हरिसिद्धमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, २३ जेठ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको हरिसिद्धिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुर महानगरपालिका वडा नं. २८ को स्वास्थ्य चौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६२३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य शिविरमा ८२ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण, ११३ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका मध्ये ६ जनाको दाँत खोलिएको तथा २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
स्थानीय लाइफलाइन होम हेल्थ केयरसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नाक कान घाँटी, छाला रोग, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको छ ।
केएमसीले २ वर्षयता निरन्तर निःशुल्क स्वास्थ्य शिविर चलाउँदा खासगरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा विपन्न समुदायका व्यक्तिहरु लाभान्वित भइरहेका छन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल कुमार शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए ।
0 प्रतिकृया