नेकका विद्यार्थीहरू प्रिमाभेराबाट दिक्षित
एक्सन खबर
ललितपुर, २३ जेठ । मुनाफारहित सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत दर्ता गरी चाँगुनारायण नगरपालिकाको सार्वजनिक जमिनमा समेत सञ्चालित नेपाल इन्जिनियरिङ कलेज दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरू मध्ये उत्कृष्ट शैक्षिक संस्था रहेको छ ।
दुई दिन अघि मात्रै नेपाल इन्जिनियरिङ परिषद्ले कलेजलाई लामो समयदेखि दिइरहेको स्थायी स्वीकृतिलाई निरन्तरता दिएर यसले मुलुकको प्राविधिक शिक्षामा पुर्याएको योगदानको महत्वलाई दर्शाएको थियो ।
कलेजले नेपालमै पहिलो पटक २०५६ सालमा पोखरा विश्वविद्यालयको सम्बन्धनमा निर्माण व्यवस्थापन विधामा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरेदेखि यो कार्यक्रम देशभरमै इन्जिनियरिङका स्नातकोत्तर विद्यार्थीहरू माझ अतिनै लोकप्रिय बनेको छ ।
यस वर्षपनि कलेजको निर्माण व्यवस्थापन कार्यक्रममा भर्ना हुन निवेदन दिने विद्यार्थीहरूको संख्या स्वीकृत सिट संख्या भन्दा चार गुणा भन्दा बढि रहेको कार्यक्रम संयोजक उपप्राध्यापक डा. दिनेश सुकमनिले जनाए ।
यहि कलेजबाट निर्माण व्यवस्थापनमा दिक्षित भई देशभित्र र बाहिर विशिष्ट सेवा दिइरहेका इन्जिनियरहरूको संख्या अहिले सम्ममा पाँच सय नाघिसकेको कलेजका प्राचार्य तथा पेशागत इन्जिनियर प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
निर्माण व्यवस्थापन कार्यक्रमको लोकप्रियताको एउटा कारण विद्यार्थीहरूलाई दिइने सिपमूलक तालिमहरू हो । कलेजले हरेक वर्ष निःशुल्क रूपमा इच्छुक विद्यार्थीहरूलाई निर्माण व्यवस्थापनमा उपयोगी प्रिमाभेरा नामक सफ्टवेरको तालिम दिने गरेको छ । यो सफ्टवेरमा दिक्षित भएका इन्जिनियरहरूको माग नेपालमा मात्र नभई विदेशमा पनि उच्च छ।
कलेजबाट नियमित पढाई सक्ने वित्तिकै बजारमा सेवा दिन विद्यार्थीहरूलाई तयार गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले यस वर्षपनि प्रिमाभेरा सफ्टवेरको नवीनतम भर्सनको तालिम विषय विज्ञ इन्जिनियर सरोज धिमिरेको नेतृत्वमा हालै सम्पन्न गरेको छ । कम्तिमा सत्तरी प्रतिशत नियमित हाजिर भएका प्रशिक्षार्थीहरू मात्र दीक्षित हुने यस तालिमबाट यस वर्ष एक्काइस जना प्रशिक्षार्थीहरू दिक्षित भएका छन् ।
कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा आज आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा कलेजको स्नातकोत्तर अध्ययन कार्यक्रमका निर्देशक तथा पेशागत इन्जिनियर प्रा.डा. तुसिता चाँदनी शाहिले दिक्षित विद्यार्थीहरूलाई बधाई दिँदै आफुले प्राप्त गरेको सीपको सदुपयोग गरी पूर्वाधार विकासको निर्माण व्यवस्थापनमा भइरहेको कमजोरी न्यूनिकरण गर्न सुझाए । विज्ञ इन्जिनियर सरोज घिमिरेले प्रिमाभेरा सफ्टवेर निर्माण क्षेत्रमा मात्र नभई अरूखालका आयोजनामा पनि प्रयोग हुने जनाए ।
आज दिक्षित विद्यार्थीहरूले तालिमबाट आफुले आर्जन गरेको सीपको अधिकतम सदुपयोग गर्ने वातावरण तयार भएमा नेपालमा भइरहेको पूर्वाधार निर्माण आयोजनाहरूको अवधि उल्लेखनीय रूपमा कम गर्न सकिने र त्यसो गर्न सकिए देशको निर्माण क्षेत्रले ठूलो सकारात्मक गति लिने अभिव्यक्ति दिएका थिए।
0 प्रतिकृया