एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यकाे जिम्मेवारीमा हेरफेर (सूचीसहित)
एक्सन खबर
काठमाडौं, २३ जेठ । नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको फरकफरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी हेरफेर गरेको छ । अन्तरपार्टी निर्देशन मार्फत गत जेठ १९ गते गरेको पार्टी सचिवालयको निर्णयलाई सर्कुलर गरिएकाे छ ।
सर्कूलर अनुसार एमालेका सात उपाध्यक्षहरूले विभागीय कामको संयोजनको जिम्मा पाएका छन् । सचिवहरूलाई प्रदेशको इन्चार्ज बनाइएकाे छ । बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारीमा गएका छन् । स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएकाे नेकपा एमालेले जनाएकाे छ ।
सहइन्चार्जहरू हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ । पार्टीकाे स्थायी कमिटी सदस्य यामलाल कँडेल दैलेखको इन्चार्ज तोकिँदा सीता पौडेल महिला फाँटको इन्चार्ज बनेकी छिन् ।
एमाले अर्थ तथा योजना विभागको प्रमुख बिन्दा पाण्डे हुँदा गोरखबहादुर बोगटी सुर्खेतको इन्चार्ज बनेका छन् । कर्णबहादुर थापा युवा खेलकुद विभागको प्रमुख, थममाया थापा कास्की जिल्लाकाे इन्चार्ज र शेरबहादुर तामाङ ललितपुरको इन्चार्ज बनेका छन् ।
शिवमाया तुम्बाहाङ्फे इलामको इन्चार्ज, हिक्मतकुमार कार्की मोरङको इन्चार्ज, अरूण नेपाल नुवाकोटको इन्चार्ज, देवी ज्ञवाली मकवानपुरको इन्चार्ज भएका छन् । यस्तै, परशुराम मेघी गुरूङ उदयपुरको इन्चार्ज भएका छन् ।
पार्टीले विष्णु रिमाललाई वित्त तथा कोष व्यवस्थापन र काेष व्यवस्थापन, प्रदीप ज्ञवालीलाई स्कुल र राजन भट्टराई विदेश विभाग प्रमुखकाे जिम्मेवारी दिएकाे छ । यसअघि प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहेका पृथ्वी सुब्बा गुरूङलाई संसदीय विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ ।
भीम आचार्यले पर्यटन तथा नागरिक उड्डयन विभागको प्रमुख पाउँदा किरण गुरूङले संघीय मामिला तथा सामान्य प्रशासन विभागको जिम्मेवारी पाएका छन् । रघुजी पन्त संस्कृति विभाग प्रमुख र जनसांस्कृतिक फाँटको इन्चार्ज, भानुभक्त ढकालले जनसंगठन समन्वय संयन्त्रको संयोजक पाएका छन् ।
कृष्णगोपाल श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख हुँदा काशिनाथ अधिकारीले संगठन विभाग र राजेन्द्र गौतमले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
एमालेले ४३ वटा विभाग बनाएर त्यसको संयोजनको जिम्मा ७ जना उपाध्यक्षलाई दिएको छ । पार्टीका सात जना उपाध्यक्षलाई विषयमिल्दो हिसाबले विभागहरूको कामको संयोजनको जिम्मेवारी दिइएको हाे ।
योजना र नीतिसँग जोडिएका कामहरूको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्दा पूर्वाधार विकास र निर्माणसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेगरी जिम्मेवारी तोकिएको छ।
कृषि तथा उद्यमशीलतासँग जोडिएका विभागहरूको कामको संयोजन रामबहादुर थापा बादलले गर्ने, सामाजिक विकाससँग गाँसिएका विभागको कामको संयोजन अष्टलक्ष्मी शाक्यले गर्ने, मानव स्रोतसँग जोडिएका विभागहरूको संयोजन गर्ने जिम्मा युवराज ज्ञवालीले पाएका छन् ।
सुशासन र सेवा प्रवाहसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुवास नेम्वाङले गर्दा संगठन, प्रशिक्षण र प्रचारसँग जोडिएका विभागहरूको कामको संयोजन विष्णु पौडेलले गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको छ ।
नयाँ कार्यविभाजन अनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्ज लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्ज पद्मा अर्याल, गण्डकीको इन्चार्ज गोकर्ण विष्ट, मधेश प्रदेशको इन्चार्ज योगेश भट्टराई बनेका छन् । कोशी प्रदेशको इन्चार्ज रघुवीर महासेठ बन्दा बागमती प्रदेश भने केन्द्रीय कार्यालयले नै विशेष खालको संयोजन गर्ने पार्टीले जनाएको छ ।
स्थायी कमिटी सदस्य, पोलिटब्युरोलाई जिल्लाको इन्चार्ज तोकिएको छ । केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
0 प्रतिकृया