‘ह्वाइट कोट डिप्लोमेसी मार्फत देश विकास गर्न सक्छौं’ डा. सुनिल शर्मा (भिडियाे सहित)
एक्सन खबर
काठमाडौं, २५ जेठ । ह्वाइट कोट डिप्लोमेसीमार्फत विश्वबजारबाट पैसा ल्याएर देश विकास गर्न सकिने सांसद डा. सुनिलकुमार शर्माले बताएका छन् । बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. शर्माले नेपालले विश्व बजारमा ह्वाइट कोट डिप्लोमेसी खडा गर्नसक्ने बताएका हुन् ।
‘हामी विश्वमा ह्वाइट कोट डिप्लोमेसी खडा गर्न सक्छौं । विश्वबजारबाट पैसा ल्याएर नेपालको विकास गर्न सक्छौं ।’ नेपालको मेडिकल शिक्षा विश्वमा विक्नसक्ने चर्चा गर्दै सरकारले भने अनेकन नियमहरु तेर्स्याएर नीजि मेडिकल कलेजको सिट संख्या काट्ने गरेको जिकीर पनि गरे ।
नेपालको भन्दा कम क्षेत्रफल र जनसंख्या भएको क्यूवाले प्रत्येक वर्ष हज्जारौं डाक्टर उत्पादन गरेर खर्बौं कमाइरहेको जिकीर गर्दै डा. शर्माले विश्वभर माग भएको विषय पढाएर देशको विकास गर्नुपर्ने बताए । ‘नेपालभन्दा सानो १ करोड १२ लाख जनसंख्या भएको क्युवाले विश्वका ६७ वटा देशमा ५० हजार डाक्टरहरु सप्लाई गरेको छ । वार्षिक १४ खर्ब आर्जन गरेको छ ।’ अमेरिका, यूके, जापान, क्यानडा, फ्रान्स जस्ता मेजर देशहरुमा क्यूवाले डाक्टर सप्लाई गरेको भन्दै उनले नेपालले पनि मेडिकल शिक्षामा क्युवेन मोडल अपनाउन जोड दिए ।
‘हेल्थ टुरिजमबाट त्यहाँका अस्पतालहरुले ५ अर्ब नेपाली पैसा आर्जन गर्छन् । क्युवेन मोडललाई मेडिकल इतिहासमा विश्वकै उत्कृष्ट मोडलको रुपमा मानिन्छ ।’ दक्षिण एसियाली देश बंगलादेशले वर्षेनी ११ हजार डाक्टर उत्पादन गरिररहेको जनाउँदै डा. शर्माले नेपालमा भने वार्षिक १३३८ मात्र नेपाली डाक्टर उत्पादन भइरहेको भन्दै डाक्टर, नर्स तथा प्यारामेडिक्सहरु उत्पादन गरेर विश्व बजारबाट खर्बौं आम्दानी गर्नसक्ने जिकीर गरे ।
हाइड्रोपावर भन्दापनि हटकेकको रुपमा बेच्नसक्ने सिलेवल भनेको मेडिकल शिक्षा नै रहेको उनको तर्क छ । अहिले पनि श्रीलंकन, माल्दिभ्स जस्ता देशहरुका विद्यार्थीहरु अध्ययनरत रहेको जनाउँदै डा. शर्माले एकपछि अर्को नियमहरु तेर्स्याएर मेडिकल कलेजका सिट संख्याहरु काटिने गरेको चर्चा गरे ।
ज्याला मजदुरी गर्न अरब जाने क्रमलाई रोकेर विश्वबजारमा डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट जस्ता दक्ष जनशक्ति बनाएर पठाउने विषयमा सबै एकमत भए १० वर्षभित्र देश बन्ने डा. शर्माको दावी छ ।
बजेटका सन्दर्भमा बोल्दै सांसद शर्माले बजेटलाई क्रमभंगता गर्न नसकेको बताए । अघिल्लो सरकारहरुले जेगरे त्यसकै रोहबरमा टालटुल गरेर बजेट ल्याएको भन्दै बजेटले गरिब विपन्न नागरिकलाई नछोएको दावी गरे । ‘ताप्लेजुङको ओलाङ्चुङगोलादेखि चिसाङको डाँस खोलासम्म बारा पर्साका र पश्चिम कर्णालीका सुदुरपश्चिमका हिमालका जनता जो गिट्टी कुटेर मजदुरी गरेर खाइरहेका छन् तिनको बच्चाले इन्जिनियरिङ, मेडिकल अथवा उच्च शिक्षामा अन्य कुनै राम्रो विषय पढ्न चाह्यो भने तपाईको स्किम कहाँ पर्यो ?’ अर्थमन्त्रीलाई प्रश्न गर्दै डा. शर्माले भने ।
उनले स्वास्थ्य बीमामा पनि सरकारले ब्यापार गर्न खोजेको बताए । स्वास्थ्य बीमा सरकारी अस्पताललाई मात्र दिने भनेर राज्यले प्राइभेट क्षेत्रलाई सौतेनी आमाको व्यवहार गरेको जिकीर गरे । ‘सरकारी अस्पताललाई मात्रै उपचार गर्ने भनेको छ, त्यसको मतलव प्राइभेटहरु सौतेनी आमाका छोरा हुन् र ?’ प्राइभेटहरुलाई संरक्षण गर्ने दायित्व पनि राज्यको भएको उनको भनाई छ ।
0 प्रतिकृया