पशुपतिनाथमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं लाभान्वित
एक्सन खबर
काठमाडौं, २७ जेठ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत आयोजित उक्त स्वास्थ्य शिविरबाट हज्जारौं दर्शनार्थी लाभान्वित भए ।
स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १० जना चिकित्सकको टोली खटिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा केएमसीका तर्फबाट स्वास्थ्य जाँच गराएकाहरुलाई निःशुल्क औषधीहरु पनि वितरण गरिएको थियो ।
उक्त स्वास्थ्य शिविरबाट टाढाटाढाबाट भगवान पशुपतिनाथको दर्शनका लागि आएका श्रद्धालु भक्तजनहरुले बढी लाभ लिएका थिए । साथै, त्यहाँ आयोजित सत्संग कार्यक्रममा सहभागी भक्तजनले पनि लाभ लिएको केएमसीले जनाएको छ ।
स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग लगायतको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गरी थप उपचारका लागि केएमसी आउनेहरुलाई थप सुविधाहरु पनि दिइनेछ ।
पछिल्लो समय चिकित्सा क्षेत्रका दक्ष जनशक्तिसहित नविनतम स्वास्थ्य उपकरणबाट स्वास्थ्य उपचार गर्दै आइरहेको केएमसीले आफुलाई नेपालकै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा स्थापित गराउन लागि परेको छ । समाजसेवी, राजनीतिज्ञ तथा सफल व्यवसायी डा. सुनिल शर्मा (हाल प्रतिनिधिसभा सदस्य) को कुशल टीमले केएमसीको व्यवस्थापन सम्हालेसँगै यसको सेवाहरु गुणस्तरीय बन्दै गएको छ ।
0 प्रतिकृया